कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’ फेला

  माघ १७, २०७६

धरान, १७ माघ : चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा ‘सेतो पेटे रानी चरी’ नामक प्रजातिको चरा फेला परेको हो ।

विश्वमै दुर्लभ मानिने उक्त चरा नेपालको कोशी टप्पुमा फेला परेको कोशी टप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरवान मन्सुरीले जानकारी दिनुभयो । नेपाली नाम ‘सेतो पेटे रानी चरी’ र अङ्ग्रेजी नाम ‘एसी मेनीभेट’ रहेको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिनुभयो ।

‘नयाँ प्रजाति’ भनेर प्रचार गरिए पनि उक्त चरा सन् २०११ नोभेम्बर १९ मा चरा विज्ञ बद्री चौधरीलगायतले रेकर्ड गर्नुभएको थियो । भारतबाट आएको रैथाने उक्त चरा दुर्लभभन्दा पनि कम देखिने चरामा पर्ने चरा विज्ञ डा बरालले बताउनुभयो । त्यसबेला दुई प्रजाति ‘एसी मेनिभेट’ र ‘सुइनोज मेनिभेट’ प्रजाति रेकर्ड भएका थिए । त्यसपछि हालसम्म फेला परेको थिएन । रेकर्डमा आए पनि यस चराको तस्बिर भने पहिलोपटक फोटोग्राफर सञ्जय था श्रेष्ठले चिच्नुभएको छ । यस चराको विषयमा डा बरालले सन् २०१६ मा लेखेको ‘बर्ड अफ सप्तकोशी’ पुस्तकमा समेत उल्लेख छ ।

कोशी टप्पु वर्ड वाचिङ क्याम्पका सञ्चालक तथा फोटोग्राफर सञ्जय था श्रेष्ठले माघ ९ गते उक्त चरा देखेर तस्बिर खिच्नुभएको थियो । चरा नयाँ प्रजाति जस्तो लागेपछि उहाँले प्रमाणीकरणका लागि चराविद् डा बरालसमक्ष पु¥याउनुभएको थियो ।

पछिल्लो समय था श्रेष्ठ र झापाका देबेन खरेलले तस्बिर खिचेको डा बरालले बताउनुभयो । श्रेष्ठले खिचेको तस्बिर प्रष्ट देखिएको उहाँको भनाइ छ । नेपालमा भएका ८८६ प्रजाति चरामा पेटे चरा उल्लेख छ । राष्ट्रिय निकुञ्ज विभाग र डिसिएन संस्थाले निकालेको चेकलिस्ट र बरालले नै २०१६ मा लेखेको बर्ड अफ सप्तकोशी भन्ने पुस्तकमा समेत उल्लेख छ । रकर्ड पहिले नै भए पनि चराको तस्बिर भने कोशीटप्पुमा पहिलोपटक खिचिएको बरालले जानकारी दिनुभयो ।

आरक्षणमा चीन, रसिया, पाकिस्तान, बङ्लादेश, भारत, भूटानबाट कोशीटप्पुमा चरा आउने गर्छन् । चखेवा, कराङकुरुङ रसियाबाट आएका हुन् । यी चरा विश्वमा धेरै लामो दूरी उड्नसक्ने पक्षीका रूपमा चिनिन्छन् । नेपालमा पाइने जम्मा ८८६ प्रजातिमध्ये ५९ प्रतिशत चरा कोशीटप्पुमा पाइन्छ ।

तपाईको प्रतिक्रिया