एनटिभीको पाँचौं च्यानल इटहरिबाट

  माघ १७, २०७६

इटहरी, १६ माघ : नेपाल टेलिभिजन (एनटिभी)को ३५औंँ वार्षिकोत्सवका अवसरमा शुक्रबारदेखि इटहरिबाट पनि प्रशारण हुने भएको छ । प्रदेश १ र २ लाई लक्षित गर्दै सरकारले एनटिभीको पाँचौं च्यानल प्रशारणमा ल्याउन लागेको हो ।

नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा वलीले प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट वटन थिचेर गर्नुहुने भएको छ । नेपाल टेलिभिजन इटहरी कार्यालय परिसरमा आयोजना हुने शुभारम्भ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा तथा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विशेष आतिथ्यता रहने भएको एनटिभीले जनाएको छ ।

नेपाल टेलिभिजनको पाँचौ च्यानलको रुपमा सञ्चालन हुन लागेको इटहरी प्रशारण केन्द्र प्राविधिक हिसाबले उच्च प्रविधियुक्त हुने र यस च्यानलको पहुँच राष्ट्रिय प्रशारण सरह हुने नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले जानकारी गराउनुभयो । उहाँले साथै नेपाल टेलिभिजनको डिटिएच तथा देशभरका केवल वितरकमार्फत हेर्न सकिने बताउनुभयो । साथै मोबाइल एप्स र वेवसाइटमार्फत संसारभर यसको प्रशारण हेर्न सकिने जानकारी गराउनुभयो ।

अध्यक्ष विष्टले स्याटेलाइटमार्फत विश्वका १४६ देशमा हेर्न सकिने छ भने भूसतहीय प्रशारणमार्फत देशको ७२ प्रतिशत जनसङ्ख्या माझ पुग्ने बताउनुभयो । त्यसैगरी नेपाल टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले एनटिभी इटहरी आफैमा स्वतन्त्र रहेकाले यहाँका स्थानीय क्षेत्रका भाषा सँस्कृतिको उजागर गर्दै सदुपयोग गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया