कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुई हजारभन्दा बढी सङ्क्रमित

  माघ १४, २०७६

बेइजिङ, १३ माघ : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुई हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आइतबार अबेर राति सो आयोगले जनाएको छ । गत २४ घण्टा यता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८०६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ ।

कोरोना भाइरसबाट निको भएर एक हजारभन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । घर फर्र्किएकाहरूलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरूमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरूको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।

मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेशनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।

सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास सङ्क्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ ।

चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरूको भनाई छ ।

उनीहरूका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो ।

यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुगर्न लागेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरू अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया