आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

  माघ १३, २०७६

काठमाडौं, १३ माघ : गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे । राउतले सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग गायिका राउतको भनाभन भएको थियो ।

सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् । राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया