महतो परिवारलाई पाँच लाख दिइने

  पुष २८, २०७६

धनुषा, २८ पुस : प्रदेश २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रूपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ । नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रबार दिलीपको हत्या भएको थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई सो रकम दिने निर्णय गरेको बताउनुभयो । प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको हत्यामा सङ्लग्न अभियुक्तमाथि कडा कारवाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो ।

मुख्य न्यायाधिवक्ता झाले भन्नुभयोे, “अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्ने वातावरण बनेको छ ।” उहाँले चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानूनको मस्यौदासमेत तयार भएको जानकारी दिनुभयो । (रासस)

तपाईको प्रतिक्रिया