घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ

  पुष २७, २०७६

काठमाडौं, २७ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण ठेक्का सम्झौता भई काम गर्दै गर्दा शुरुआती रकम लिन आएका निर्माण व्यवसायीसँग घुस लिएको अभियोगमा पूर्वाधार विकास कार्यालय प्रदेश ३ ललितपुरका लेखा अधिकृतलाई पक्राउ गरेको छ ।

आयोगका अनुसार लेखा अधिकृत विष्णुहरि पुडासैनीले निर्माण व्यवसायीसँग रु २२ हजार घुस माग्दै गर्दा पक्राउ गरिएको हो । पुडासैनीले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले ललितपुर महानगरपालिका २३ एकान्तकुनाबाट पक्राउ गरेको हो ।

आयोगले पुडासैनीलाई यही पुस २५ गते पक्राउ गरेको भएपनि थप अनुसन्धान जारी रहेको उल्लेख गरेको छ । पुडासैनीलाई आज आयोगले सार्वजनिक गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी पुडासैनीमाथि छानबिन जारी छ । (रासस)

तपाईको प्रतिक्रिया