‘भौतिक संरचना र सुरक्षा दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त’

  पुष २७, २०७६

हेटौंडा, २७ पुस : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानीका लागि टुङ्गो लगाउने क्रममा भौतिक संरचनाको पूर्वाधार तयार रहेको, साथै क्षेत्रीय सन्तुलन र सुरक्षाको संवेदनशीलतालाई केन्द्रविन्दुमा राखेर मकवानपुरको हेटौंडालाई रोज्नुपर्ने यर्थाथता रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेशसभाको आज बसेको पहिलो बैठकमा उहाँले हिजो ३ नं प्रदेशको राजधानी हेटौंडालाई नै बनाइनुपर्छ भनी राख्नुभएको प्रस्तावमाथि छलफल हुँदा सदस्यहरूले उठाउनुभएको विभिन्न जिज्ञासाहरूको आज उत्तर दिँदै जनताको आधारभूत विकासलाई प्रदेश सरकारले निष्पक्षका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधानको मर्मलाई आत्मसमीक्षा गरी प्रदेशसभाको स्वतन्त्रतामाथि कुनै प्रकारको अङ्कुश लगाउन नखोजिएको उल्लेख गर्दै सङ्घीय गणतन्त्रलाई सुदृढ बनाउन र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर राष्ट्रिय गौरवका आयोजनाहरू पनि सञ्चालन गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले दोलखा, रामेछाप, रसुवा जिल्लाबाट आउने जनप्रतिनिधि र समाजसेवीलाई अब प्रदेश ३ को राजधानी हेटौंडामा आवतजावत गर्न हेटौंडा–भीमफेदी सुरुङमार्ग, काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग निर्माण गर्ने क्रममा प्रदेश सरकारले आफ्नो नीति कार्यक्रमअनुसार प्रक्रिया शुरु गरिसकेको र चालु आवभित्र हेटौंडाबाट काभ्रेको पनौती जोड्ने ५८ किलोमिटर सडकलाई पनि निमार्ण गर्ने प्रक्रियाको पाइपलाइनमा राखिएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले हेटौंडामा अन्तर्राष्ट्रिय खेलकूदस्तरको कभर्ड हल तालीम केन्द्र र खेलकूद मैदानको निमार्ण कार्य अन्तिम चरणमा पुुगेको उल्लेख गर्दै नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक संरचना तयार भइरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले एक प्रश्नको उत्तरमा काठमाडौंको राजधानीसँग जोडिएको काभ्रेको धुलिखेललाई प्रदेशको नयाँ राजधानी स्थापना गर्ने सोच र चिन्तनलाई परिवर्तन गरी अब जनप्रतिनिधि, प्रदेश सरकार र प्रदेशसभाका सदस्यहरूको आफ्नो भूमिकालाई निष्क्रिय पार्न नहुनेतर्फ आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ भन्नुभयो ।

सोही बैठकमा विवेकशील साझा पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई प्रदेशको राजधानी बनाइनुपर्छ भनी राख्नुभएको प्रस्तावमाथि उठेको शङ्का–उपशङ्कालाई आज जवाफ दिँदै जनघनत्व, भूगोल र सडक सञ्जालले समेटिएको धुलिखेललाई राजधानीका लागि प्रस्ताव गरिँदा आफ्नो कुनै स्वार्थ र राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्य नरहेको बताउनुभयो ।

उहाँले प्रदेशसँग जोडिएका केही जिल्लाहरूलाई तत्कालै मकवानपुरको हेटौंडामा आउन यातायात क्षेत्रको असुविधाले कठिनाइ उत्पन्न भएकाले प्रदेशको राजधानीको नयाँ संरचना स्थापना गर्न नयाँ सोच चिन्तनका साथ अघि बढ्नुपर्ने आफूले चाहेको बताउनुभयो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको र आज सञ्चालन भएको बैठक ३ घण्टा १८ मिनेटको समय व्यथित भएको थियो । प्रदेशसभाको बैठक पुस २१ गतेदेखि सञ्चालन भई आज दिउँसोसम्ममा स्थगित गरिएको थियो ।

प्रदेशसभामा कूल ११० जना सदस्य हुनुहुन्छ । सत्तारूढ नेकपाको ८०, नेपाली काँग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदूर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एकजना स्वतन्त्र सांसद हुनुहुन्छ । (रासस)

तपाईको प्रतिक्रिया