भारतमा सडक दुर्घटना १५ जनाको मृत्यु

  पुष २६, २०७६

नयाँ दिल्ली, २६ पुस : भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राति एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएका छन् ।

देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन् । दुवै साधन एक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो ।

बसमा झण्डै ५० जना यात्रु रहेका थिए । उत्तर प्रदेशको कान्नौज जिल्लाबाट राजस्थान राज्यको राजधानी जयपुरतर्फ जाँदै गरेको बससँग ट्रक ठोक्किएको हो ।

प्रारम्भिक अनुसन्धानले ट्रक चालकको लापर्वाहीका कारण दुर्घटना भएको देखिएको प्रहरी अधिकारीले जनाएका छन् । ट्रक चालकले उल्टो दिशामा तिव्र गतिले ट्रक चलाएको उनीहरुको भनाइ छ ।

प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार बस र ट्रक एक आपसमा ठोक्किएपछि कम्तीमा दुईभन्दा बढी इन्धन ट्याङ्की विस्फोटनसमेत भएका थिए । विस्फोटनसँगै आगलागी पनि भएको उनीहरुले बताएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय विभिन्न अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

“अझै १८ देखि २० जनाभित्र च्यापिएको अनुमान गरिएको छ, उनीहरुलाई जिवितै बाहिर निकाल्ने प्रयास भइरहेको पनि छ,” एक प्रहरी अधिकारीले भने ।

दुर्घटनाको खबर थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जलि र मृतकका आफन्तमा समवेदना व्यक्त गर्नुका साथै घाइतेको सिघ्र स्वास्थ्य लाभकोसमेत कामना गर्नुभएको छ ।

त्यसैगरी उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले पनि दुर्घटनाप्रति दुुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतको घोषणा गर्नुभएको छ । उहाँले मृतकका परिवारजनलाई प्रति परिवार दुई लाख रुपैया र घाइतेलाई प्रतिव्यक्ति ५० हजार रुपैया राहतको घोषणा गर्नुभएको हो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया