राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न

  पुष २६, २०७६

काठमाडौँ, २६ पुस : छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको टुँडिखेलमा शुक्रबार भएको उक्त प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो हुनुभयो ।

यस्तै शो जम्पतर्फ योगबहादुर बस्नेत पहिलो, लालबहादुर कुँवर दोस्रो र रामबहादुर दाहाल तेस्रो हुनुभयो । प्रतियोगिताको टेन पेकिङतर्फ रुद्रबहादुर कार्की पहिलो, गोविन्दबहादुर खड्का दोस्रो तथा लक्ष्मण तेस्रो हुनुभयो । उहाँहरूले जनही रु २० हजार, रु १५ हजार तथा रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रदर्शन खेलअन्तर्गत महिला राइडरलाई प्रोत्साहनवापत जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहनुभएको छ । प्रतियोगितामा २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिनुभयो ।

यस्तै कतार एयरवेज, लिओन मोटर्स, टिभिएस मोटर्सलगायतले प्रतियोगिताको प्रायोजन गरेका थिए । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो । घोडचढी हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले जनस्तरमा यस खेललाई लैजान प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकर्णिकारले बताउनुभयो ।

तपाईको प्रतिक्रिया