दुई अर्ब ३९ करोडको सेयर कारोबार

  पुष २६, २०७६

काठमाडौँ, १९ पुस : धितोपत्र बजारमा यस साता कूल १८१ कम्पनीका ७१ लाख ८४ हजार ६३९ कित्ता शेयर खरीद बिक्री भए । बजारमा कारोवार मापक नेप्से परिसूचक तुलनात्मकरूपमा अस्थिर रहेको बेला साताभर रु दुई अर्ब ३९ करोड ९२ लाख ७३ हजार ६५ बराबरको कारोवार भयो ।

साताको पहिलो दिन आइतबार कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुग्यो ।

कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरीद बिक्री भए । सोमबार नेप्से परिसूचक साढे पाँच अङ्कले बढ्यो । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरीद–बिक्री भए ।

सोमबार साढे पाँच अङ्कले बढेको नेप्से मङ्गलबार भने झिनो अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक १.९२ विन्दुले घटेर एक हजार १६६.०३ मा पुग्यो । कूल १७७ कम्पनीको १३ लाख दुई हजार ९८६ कित्ता शेयर रु ४४ करोड २२ लाख ५६ हजार १५६ मूल्यमा खरीद–बिक्री भए ।

बुधबार कूल १७६ कम्पनीका ११ लाख ७५ हजार ३१३ कित्ता शेयर रु ३७ करोड ९९ लाख ८८ हजार ३०१ मूल्यमा खरीद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । नेप्से ३.२९ अङ्कले घटेर एक हजार १६६.२१ मा पुग्यो । परिसूचक घटे पनि कारोवार रकम भने ५० करोड नाघेको छ । स्टकका अनुसार त्यस दिन १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरीद बिक्री भए ।

साताभर विभिन्न दुई कम्पनीको शेयर स्टकमा सूचीकृत भए । त्यसमा हिमालयन बैंकको ऋणपत्र २५ लाख ६९ हजार १०४ सूचीकृत भयो । यस्तै वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँच लाख चार हजार कित्ता शेयर सूचीकृत भएको छ ।

बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक र कृषि विकास बैंक क्रमशः शीर्षस्थानमा रहे । (रासस)

तपाईको प्रतिक्रिया