दलीय किचलोले सिंगो संसद बन्धक

  पुष १९, २०७६

काठमाडौँ, १९ पुस (रासस) : प्रतिनिधिसभाको सभामुख चयनमा भइरहेको ढिलाइले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अझै प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको घटनाका रूपमा विश्लेषण हुन थालेको छ ।

नेकपाकै कारण सभामुख छनोट प्रक्रिया लम्बिँदा त्यस पार्टीमा अझै निर्णय पद्धति र प्रणाली नबसेका देखिएको हो । नयाँ सभामुख निर्वाचनका लागि आह्वान गरिएका प्रतिनिधिसभाको बैठक पटक–पटक सूचना टाँस गरी स्थागित हुँदै आएको छ । यो अनिर्णीत अवस्थाप्रति दलका नेता नै दिक्क भएका छन् ।

नेकपाका नेता सुरेन्द्रकुमार कार्कीले छिनभरमै सम्बोधन गर्न सकिने भएपनि प्रवृत्तिगत कारण सभामुख छनोटमा विलम्ब भएको बताउनुभयो । नेकपामा बौद्धिक व्यक्तित्वका रूपमा परिचित कार्की भन्नुहुन्छ, “सभामुखका लागि नाम चयन प्रक्रियाका मापदण्ड र प्रणाली व्यक्ति विशेषको विवेकमा रहिआएको हुँदा छनोट प्रक्रिया लम्बिएको हो, शीर्ष तहबाट प्राथमिकतामा राखेर यो विषयलाई छिटो टुङ्ग्याउनुपर्छ ।”

पार्टीको सचिवालय तथा स्थायी समितिका बैठकमा अझै यो विषय प्रवेश नभएको अभिव्यक्तिले सभामुख छनोटलाई संवेदनशीलतालाई कम आँकलन गरिएको हो कि भन्ने प्रश्न उठेको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले सङ्घीय संसद्बाट राजीनामा दिएपछि तीन महिनादेखि सभामुख पद खाली छ । जसका कारण प्रतिनिधिभाको हिउँदे अधिवेशन प्रभावित हुँदै आएको छ ।

लोकतान्त्रिक राजनीतिक प्रणाली अपनाइएको मुलुकमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिको प्रमुखलाई विशिष्ट पदाधिकारीको सम्मान व्यक्त गर्ने परम्परा छ । नियमितभन्दा यस पटक केही समयअघि सङ्घीय संसद्को हिउँदे अधिवेशन शुरु भए पनि हालसम्म सभामुखको चयन हुन नसक्दा प्रतिनिधिसभा नेतृत्वविहीन बन्न पुगेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्नुहुन्छ, “नेकपाभित्र भागबण्डा नमिलेपछि देश अनिर्णयको बन्दी भयो, यो अप्रजातान्त्रिक चरित्र हो ।” राजनीतिक संस्कार, पार्टी पद्धति र जनचाहनाअनुसार चल्नुपर्नेमा पद प्राप्तिका लागि गुट–उपगुट हुने कम्युनिष्ट चरित्र नभएको उहाँले टिप्पणी गर्नुभयो ।

नेकपा एकीकरण हुँदाका बखत एनेकपा माओवादीको भागमा परेको सभामुखमा अब कसले पाउने भन्नेमा सहमति हुन नसकेका कारण सभामुख प्रक्रिया रोकिएको हो । यद्यपि, सभामुख चयन प्रक्रियाका लागि सङ्घीय संसद् सचिवालय तयारी अवस्थामा रहेता पनि शीर्ष तहमै नाम छनोटमा सकस देखिएको छ । नेकपाका नेता सत्यनारायण मण्डलले आकाङ्क्षी धेरै भएकाले ठीक व्यक्तिको छनोट गर्न केही समय लागेको भए पनि विलम्ब गर्न नहुने बताउनुभयो ।

सभामुख पदका लागि वर्तमान उपसभामुख डा शिवमाया तुम्वाहाङफे, पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ । संविधानतः सभामुख र उपसभामुख एउटै दल र एउटै लिङ्गको हुन नहुने भएकाले उपसभामुखको राजीनामा पछिमात्र सभामुखको निर्वाचन प्रक्रिया आरम्भ हुने नेकपाका केही नेताहरूले बताउँदै आएका छन् ।

उता, उपसभामुख डा तुम्वाहाङ्फेले भने दलबाट निर्देशन आएमा सभामुखको निर्वाचन अगाडि नै आफूले मार्ग प्रशस्त गर्ने स्पष्ट पार्दै आउनुभएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन प्रारम्भ भएको यतिका दिन भइसके पनि पूर्वएनेकपा माओवादी र नेकपा एमालेबीच सभामुखका लागि आ–आफ्नो अडानका कारण सभामुख चयन प्रक्रिया ओझेलमा परेको हो । यो लोकतान्त्रिक व्यवस्थाका लागि सुहाउँदो विषय होइन ।

त्यसो त संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस पनि आन्तरिक कचिङ्गल फसेकाले पनि उसले सही तवरले खबरदारी गर्न सकेको छैन । काँग्रेस नेता एवं पूर्वमन्त्री रमेश लेखकले एउटा राजनीतिक दल विशेषका कारण जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सिङ्गो संसद्ले नेतृत्व पाउन नसकेर बन्दक भएको प्रतिक्रिया दिनुभयो । उहाँले यस अवस्थाले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई मजाक उडाउने काम भएको आरोप लगाउनुभयो । नेपाली काँग्रेसले सभामुखको चयन यथाशीघ्र होस् भनेर आवाज उठाइरहेको बताउँदै उहाँले यति विलम्ब हुन्थ्यो भने हतारमा संसद् आह्वान किन गरेको भनी प्रश्न गर्नुभयो ।

सभामुख चयनको एजेन्डामै लामो समय व्यथित गर्नुपर्ने अवस्थाले सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक फेरि पनि ओझेलमा पर्ने त होइन भन्ने प्रश्न उठेको छ । सभामुख चयन प्रक्रिया लम्ँबदा सत्तारूढ दलबीच गुट तथा उपगुट सिर्जना हुन सक्ने खतरा उत्पन्न हुने र नेताको निर्णय क्षमताप्रति प्रश्न उठ्ने अवस्था आउन सक्ने परिस्थितिलाई शीर्ष तहले समयमै हेक्का राख्न आवश्यक देखिएको छ । रासस

तपाईको प्रतिक्रिया