मधेशमा पुनः ठूलो आन्दोलन हुने : यादव

  पुष १५, २०७६

जलेश्वर, १५ पुस (रासस) : समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताउनुभएको छ ।

युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्ने बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरू आन्दोलन गरिराख्ने र मधेशी जनताले आफूहरूलाई सधैँ सहयोग गरिरहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ आफ्नो पार्टी अब सडक र सदन दुवै ठाउँबाट सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउने तथा पूर्ण रूपमा अधिकार प्राप्त नहुन्जेलसम्म सङ्घर्षका कार्यक्रम निरन्तर चलिरहन्छ ।”

अध्यक्ष यादवले वर्तमान सरकार आफूहरूलाई वाचा गरेर पनि मधेश र मधेशीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरूले सरकार छाडेको स्पष्ट पार्नुभयो ।

उहाँले अब मधेशी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन आग्रहसमेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया