प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा : राई

  पुष १२, २०७६

नेपालगञ्ज, १२ पुस : पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई दिग्भ्रमित पार्ने खेल खेलेको मात्र हो भने ।

नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन समन्वय समिति बनेर ‘माहौल’ बनाउने अभियान शुरु भएपछि पूर्वमन्त्री राईले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘संविधान संशोधनको माग पूरा नभएपछि भर्खरै हामीले सरकार छोडेका छौँ, यो अवस्थालाई नबुझेर प्रदेश हेरफेरको कुरा गर्नु बहुलठ्ठीपन मात्र हो’ नेता राईको भनाइ थियो । समन्वय समितिका संयोजक नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाप्रति लक्षित गर्दै पूर्वमन्त्री राईले भने, ‘तपाईँ नगरको विकासमा ध्यान दिनुस्, जनतालाई भ्रम छर्ने काम गर्नु हुँदैन ।’

सो महोत्सव उदघाटन अघि बिहान नेपालगञ्जमा सांस्कृतिक झाँकी पनि निकालिएको थियो । महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा बाँके र प्रदेश ५ समिति बुटवलले सघाएको छ । ‘मेहनत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । यस क्षेत्रका घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरूको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको संयोजक रचना श्रेष्ठले बताए । यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० बढी प्रदर्शनी कक्ष राखिएका छन् । ती कक्षहरूमध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि छुट्याइएको छ ।

जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने गिरीको बयान शुरु, पक्ष र विपक्षमा     महिलाहरूको प्रदर्शन

इनरुवा, १२ पुस : जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान लिने क्रम शुक्रबारदेखि शुरु भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका सिद्धबाबा भनिने गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान शुरु भएको हो ।

सिद्धबाबाको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर इजलासमा परेको छ । सरकारी वकिलमार्फत बिहीबार साँझ अदालतसमक्ष मिसिल बुझाएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया शुरु भएको हो । सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४को दफा २१९ को १, २ र ३(ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीमाथि सजाय माग दाबी गरिएको छ ।

अभियोगमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम सजाय गरी निज प्रतिवादीबाटै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूिर्त शुल्क निर्धारण गरी उक्त क्षतिपूर्तिबापतको रकम क्षतिपूर्ति शुल्क कोषमा जम्मा गरी पाऊँ भनी माग दाबीसमेत गरिएको छ ।

अभियोग प्रमाणित भए उनीलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३(ङ) अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख गरेको छ ।

सिद्धबाबामाथि अदालती प्रक्रिया शुरु भएसँगै समर्थक र विरोधीहरूले शुक्रबार जिल्ला अदालत सुनसरी अगाडि प्रदर्शन गरेका छन् । अनुयायी महिलामाथि बलात्कारको मुद्दा खेपिरहेका उनको अदालती प्रक्रिया शुरु भएसँगै उनका समर्थक र विरोधीबीच जिल्ला अदालत सुनसरी अगाडि विरोध प्रदर्शन भएको हो ।

स्वतःस्र्फूतरूपमा सयौँको सङ्ख्यामा आएका महिला अधिकारकर्मीसहितका महिलाहरूले जिल्ला अदालत इनरुवा सुनसरी अगाडि सिद्धबाबामाथि कारबाहीको माग गरेका हुन् । उनीहरूले सिद्धबाबालाई कारवाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, ढोँगी बाबा चाहिँदैनलगायतका नारा लगाएका थिए ।

यता सिद्धबाबाका समर्थकहरूले अदालतअगाडि भेला भएर उनको जय जयकार गर्नुका साथै भजन कीर्तन र हनुमान चालिसालगायतका पाठ गर्दै रिहाइको कामना गरेका छन् । थुनछेक बहसका लागि न्यायाधीशहरू बीचमा गोला हानिएपछि सिद्धबाबामाथिको अदालती प्रक्रिया अघि बढेको हो । उनको मुद्दा गोला प्रथामार्फत सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश उप्रेतीको बेन्चमा परेको छ ।

यसैबीच सिद्धबाबाको समाचार सङ्कलनका लागि गएका पत्रकारहरूलाई अदालत परिसर छिर्न रोक लगाइएको छ । सिद्धबाबाको विषयमा समाचार सङ्कलनका लागि गएका सुनसरीका पत्रकारहरूलाई मूलगेटबाट भित्र प्रवेशमा रोक लगाइएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले बताए ।

यता जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले पत्रकारलाई आफूहरूले सूचनाको हकबाट वञ्चित नगरेको बताए । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरेर पत्रकारहरूलाई भित्र प्रवेशमा रोक लगाइएको भन्दै उनीँले पत्रकारहरूलाई सूचनाको हकबाट वञ्चित गर्नु आफूहरूको उद्देश्य नभएको बताए । सिद्धबाबाको विषयमा बयान सकिएपछि सम्पूर्ण पत्रकारलाई बोलाएर जानकारी गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया