पर्यटकीय पूर्वाधार निर्माणमा जुट्दै स्थानीय तह

  पुष १२, २०७६

कृष्ण न्यौपाने

दमौली, १२ पुस : नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका कार्यले प्राथमिकता पाइरहेका छन् । भ्रमण वर्षलाई लक्ष्य गरी तनहुँका केही स्थानीय तहले पूर्वाधार निर्माण गरिसकेका छन् भने केहीले दीर्घकालीन रुपमै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणलाई जोड दिएका छन् ।

तनहुँका दशै वटा स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि कृत्रिम ताल, दृश्यावलोकन केन्द्र, शिशाको दृश्यवलोकन स्तम्भ लगायतका संरचना निर्माण गर्ने योजना अगाडि सारेका छन् । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको बन्दीपुरमा शिशाको दृश्यावलोकन स्तम्भ निर्माणका लागि गाउँपालिका लागिपरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप योगदान पु¥याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले शिशाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बताउँछन् ।

बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जमीनको सतहबाट ५ फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

‘बन्दीपुर आफैंमा पनि सुन्दर र प्रख्यात पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष थापाले भने – ‘यहाँको पर्यटन उद्योग विस्तारमा यसले ठूलो योगदान दिनेछ भन्ने अपेक्षा गरेका छांै ।’ ‘दृश्यावलोकन स्तम्भ’ मा दुरबीनको समेत व्यवस्था मिलाइनेछ । एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ को अहिले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण भइरहेको छ । डिपिआरको काम सकिने बित्तिकै टेण्डरको प्रक्रिया अगाडि बढाइने थापाले जानकारी दिए ।

बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ । गत वर्ष मात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए । बन्दीपुर घुम्न आउनेमध्ये ८० प्रतिशत स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले ‘दृश्यावलोकन स्तम्भ’ निर्माणपछि अझ यो सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे ।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको छ । यहाँ रहेका पुराना घरहरूका कारण पनि विदेशीहरू आकर्षित हुने गरेका छन् । पोखरादेखि ७४ किलोमिटर र काठमाडाँैदेखि १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर लगायतका स्थलहरू यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

दक्षिणी भेगमा रहेको घिरिङ गाउँपालिकाले खोलालाई थुनेर घुमाउने ताल बनाउन लागेको छ । घुमाउने तालको डिपिआर तयार भएको छ । घिरिङ गाउँपालिका–३ मा अवस्थित गोफाखोला थुनेर ताल बनाउन डिपिआर तयार भएको र टेण्डर आह्वान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रणबहादुर रानाले जानकारी दिए । कुल ७९ रोपनी क्षेत्रफलमा ताल निर्माणका लागि तीन करोड बजेट अनुमान गरिएको छ । ताल निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा एक करोड विनियोजन गरेको छ ।

ताल निर्माणका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत सङ्घीय सांसद केदार सिग्देलले ५० लाख र गण्डकी प्रदेश सरकारले २० लाख विनियोजन गरेका छन् । थप रकमका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिने अध्यक्ष रानाले बताए ।

ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा ३० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पु¥याइएको छ । ‘यहाँका बासिन्दा बसाइँ सरेर अन्यत्रै गएका छन्, गाउँबस्ती रित्तो हुने क्रम बढ्दो छ, ताल निर्माणपछि गाउँ छाडेका मानिसहरू गाउँ फिर्ता हुने विश्वास गरेका छौ,’ रानाले भने । गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ ।

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिकाले दुई ठाउँमा कृत्रिम ताल बनाउन सम्भाव्यता शुरु गरेको छ । भानु नगरपालिका–३ र ८ स्थित फाउदी रह र भानु नगरपालिका–१२ र १३ कस्र्याङ्दी खोला थुनेर ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

त्यस्तै, भानु नगरपालिका–९ स्थित गढीमाईमा दृश्यावलोकन केन्द्र निर्माण गर्न लागिएको छ । दृश्यावलोकन केन्द्र निर्माणका लागि चालु आवमा २० लाख विनियोजन गरिएको छ । ‘भानुभक्त आचार्य र नेमुनि ऋषिको जन्मथलो भए पनि यहाँको पर्यटकीय स्थल ओझेलमा परेका छन्, पर्यटक त आउँछन् तर, उनीहरूलाई भुलाउन पूर्वाधार छैन,’ पाण्डेले भने, ‘त्यसैका लागि पूर्वाधार निर्माणमा जोड दिएका छांै ।’

व्यास नगरपालिकाले दुई वटा कृत्रिम ताल निर्माण गर्ने योजना अगाडि बढाएको छ । व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण शुरु भइसकेको छ । व्यास नगरपालिका–३ स्थित मादी नदीमा ताल निर्माणका लागि डिपिआर तयार भएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

कृत्रिम ताल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको थियो । मादी नदीमा ताल निर्माणका लागि अब टेण्डर प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको छ । नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ ।

‘मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएको छ,,’ नगरप्रमुख न्यौपानेले भने – ‘यसले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

काठमाडौँबाट १५० र पोखराबाट ५० किलोमिटरको दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल सहितको संरचना निर्माण गर्न करीब ६ अर्ब लाग्ने अनुमान गरिएको छ । कृत्रिम ताल सहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजना अन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५०० क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्स लगायतका संरचना निर्माण गरिनेछ ।

यस्तै, भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी व्यास नगरपालिका–६ गलेखामकोटमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ । नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गलेखामकोटमा १६ लाख ५० हजारको लागतमा स्तम्भ निर्माण गरिएको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले जानकारी दिए । ‘भ्रमण वर्षलाई सफल बनाउन पूर्वाधार निर्माणको आवश्यकता खड्किएपछि दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो,’ वडाध्यक्ष भण्डारीले भने, ‘यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न मद्दत पुग्छ ।’

गलेखामकोटमा रहेको कोटभैरव मन्दिरको प्रचारप्रसारका लागि पनि यो स्तम्भले सहयोग पुग्ने विश्वास गरिएको छ । ‘गलेखामकोट आफैंमा एउटा पर्यटकीय स्थल हो,’ भण्डारीले भने, ‘दृश्यावलोकन स्तम्भ निर्माणपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल अझै बढ्ने अपेक्षा गरेका छौं ।’

तीन तलाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ«े, धवलागिरि, अन्नपूर्ण, मनास्लु लगायतको हिमशृङ्खला देख्न सकिन्छ । गलेखामकोट पुग्ने पर्यटकलाई बास बस्न पाहुनाघर पनि निर्माण गरिएको छ ।

समुद्र सतहबाट दुई हजार २०७ मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंका बेला विशेष पूजाआजा हुने गरेको छ । बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी शिवराज काफ्लेले बताए । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रुपमा काम गर्दैआएका छन् ।

पर्यटकीय सम्भावना बोकेर पनि यो ठाउँ ओझेलमा पर्दैगएको स्थानीयवासीको गुनासो छ । स्थानीयवासी राजकुमार श्रेष्ठले भने –‘यो आफंैमा पनि छुट्टै विशेषता बोकेको ठाउँ हो तर, यसको पर्याप्त प्रचारप्रसार हुन सकेको छैन । स्तम्भ बनेपछि यस ठाउँको प्रचार हुनेमा विश्वस्त छौं ।’ यस ठाउँमा युद्धमा प्रयोग गरिएको हातहतियार सुरक्षित रुपमा राखिएका छन् ।

तपाईको प्रतिक्रिया