नेकपाको स्थायी कमिटी बैठक शुरु

  मंसिर ३०, २०७६

काठमाडौँ, ३० मंसिर : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन आज अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्नुुहुनेछ । आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार गर्नुभएको प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गर्दै सरकार र पार्टी कामलाई प्रभावकारी बनाउन जोड दिनुभएको थियो । प्रतिवेदनमा राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका कामकारवाही र उपनिर्वाचनको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन र पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषय उल्लेख छ ।

बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावसमेत पेश गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया