पर्वतमा २१ सिँचाइ आयोजना निर्माण शुरु

  मंसिर २९, २०७६

पर्वत, २९ मंसिर : पर्वतका स्थानीय तहमा २१ सिँचाइ आयोजना निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५०० हेक्टरभन्दा धेरै जमीन सिँचाइ हुनेगरी आयोजना निर्माण हुन लागेका हुन् । कृषिमा आधुनिकीकरणसँगै खाद्यान्न, तरकारी र फलफूल खेतीलाई सिँचाइ सहज बनाउन फलेवास नगरपालिकामा मात्रै सात नयाँ सिँचाइ निर्माण हुन लागेका हुन् ।

त्यस्तै, कुश्मा नगरपालिकामा चार, पैयुँमा तीन, जलजलामा तीन, मोदीमा दुई र बिहादीमा दुई सिँचाइ आयोजना निर्माण हुन लागेका हुन् । चालू वर्षमै काम शुरु भएर सकिने गरी सञ्चालित आयोजनाले जिल्लाको ५१२ हेक्टर खेतीयोग्य जमीन समेट्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले जानकारी दिएको छ जसका लागि चालू वर्ष नौ करोड ५४ लाख बजेट छ ।

स्रोत भएर पनि सिँचाइ सहज हुन नसकेका क्षेत्र छनोट गरेर चालू वर्ष नै सक्नेगरी कतिपय आयोजना शुरु भइसकेको डिभिजन प्रमुख थलबहादुर तामाङले बताए । सिँचाइ आयोजना निर्माण हुने चरणमा रहेका अधिकांश ठाउँ धान, मकै, गहुँ र तरकारी बालीका लागि पकेट क्षेत्रका रूपमा छन् । थोरै लगानीमा किसानले धेरै प्रतिफल लिने क्षेत्रलाई छनोट गरी सिँचाइ आयोजना अगाडि बढाइएको उनले बताए ।

जिल्लामा २८ हजार ५९३ हेक्टर खेतीयोग्य जमीन भएकोमा परम्परागत सिँचाइ आयोजनाबाट सिञ्चित हुने जमीनको क्षेत्रफल नौ हजार ९४० हेक्टर जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

कालाञ्जर क्षेत्रको विकासका लागि महायज्ञ

विभिन्न पुराणमा वर्णन गरिएर पनि ओझेलमा परेको पर्वतको हम्पालमा अवस्थित पवित्र कालञ्जर भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रूपमा विकास गर्न कालञ्जर क्षेत्रमा विराट ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी वैशाख १ देखि ७ गतेसम्म आयोजना गरिने उक्त विराट ज्ञान महायज्ञका लागि जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल महायज्ञ मूल आयोजक समितिको संयोजक चयन हुनुभएको छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै कालञ्जर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरी जलजला र सिङ्गो पर्वतको आर्थिक समृद्धिमा टेवा पु¥याउने अभियान बोकेर हिँड्नुभएका अध्यक्ष मल्ल कालञ्जर क्षेत्र धार्मिक पर्यटन परियोजनाका परिकल्पनाकारसमेत हुनुहुन्छ ।

आफूले शुरुदेखिनै कालञ्जर र हम्पालको पर्यटन गुरुयोजना बनाएर यसको विकासका लागि समर्पित भएको अध्यक्ष मल्लले बताए । महायज्ञ मूल आयोजक समितिको संयोजक चयन भएपछि मल्लले बिहीबार नै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, एनआरएनएका पूर्वउपाध्यक्ष कुल आचार्य र मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यलाई लिएर हेलिकोप्टरबाट कालञ्जर क्षेत्र र महायज्ञस्थलको अवलोकन गरेका थिए ।

कालञ्जर क्षेत्रलाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद पदम गिरी, गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहितको उच्चस्तरीय टोलीले यसअघि नै त्यस क्षेत्रको अवलोकन भ्रमणसमेत गरिसकेको छ । हिन्दू धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ ।

तपाईको प्रतिक्रिया