खानेपानी योजना शिलान्यास

  मंसिर २९, २०७६

वालिङ, २९ मंसिर : स्याङ्जाको भिरकोटमा १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको एक करोड र बाँँकी रकम श्रमदानस्वरुप भिरकोट नगरपालिकाको लागत सहभागितामा निर्माण थालिएको हो ।

कूल नौ करोड ९९ लाख ५४ हजार ५२६ को लागतमा बयरघारी खानेपानी तथा सरसफाइ योजना निर्माण शुरु भएको उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले बताए । भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारीमा व्यक्तिगत पाइपमार्फत खोलाको पानी प्रयोग गर्दै आएका बजारवासीलाई शुद्ध र प्रशोधित सफा खानेपानी पु¥याउने उद्देश्यले काम थालिएको नगरप्रमुख छायाराम खनालले बताए ।

नगरवासीलाई व्यवस्थित खानेपानी घरघरमै पु¥याउने लक्ष्यसाथ योजनाको थालनी गरेका हौँ’, नगरप्रमुख खनालले भने, ‘थालिएको योजनालाई निर्धारित समयमै सम्पन्न गरी नगरवासीको दैनिकीलाई सहज बनाइनेछ ।

भिरकोट नगरपालिकाका, २ र ४ नं वडाका ९४७ घरधुरीका करिब पाँच हजार जनसङ्ख्या लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताए । बायाँखोला र खाँदीखोला मूलबाट पानी ल्याएर भिरकोट१ केरुङमा चार लाख लिटर र मुहान नजिकै २० हजार लिटरका दुई ट्याङ्की निर्माण गर्नेछौँ’, अध्यक्ष अधिकारीले भने, ‘बायाँखोला मूलको पानी पाइपमार्फत ट्याङ्कीमा आउनेछ भने खाँदीखोला मूलको पानीलाई लिफ्टिङ गरेर ट्याङ्कीमा सङ्कलन गरिनेछ ।

लामो समयदेखि प्रतिक्षाको रूपमा रहेको उक्त खानेपानी योजना आगामी २०७७ माघसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया