भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

  जेठ २१, २०८०

गण्डकी, २१ जेठ : जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।

पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ ।

नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपालिकाको सबैभन्दा दुर्गम वडा मानिने ७ र ८ मा राष्ट्रिय प्रसारण लाइन पुगेको जानकारी दिनुभयो । लामो समयदेखि अन्धकारमा रहेको भेरीखोला बस्ती राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ । केही उद्योग गर्न चाहनेलाई पनि विद्युत्को समस्याले हैरानी बनाएको थियो ।

सदरमुकाम र आसपासका गाउँलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा जिल्लाका ग्रामीण गाउँका बस्तीमा समेत बिजुली सेवा विस्तार गरेको उहाँले बताउनुभयो । गत वर्षको असोज महिनाको अन्तिम साता परेको अविरल वर्षाले प्रभावित भेरीखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि यहाँका स्थानीयवासीलाई राहत भएको वडाध्यक्ष तिलक रावतले बताउनुभयो ।

गाउँमा बिजुली बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न र विद्युतीय क्रियाकलापबाट गरिने कामलाई सहज बनाएको स्थानीवासी हस्त रावतको भनाइ छ । वर्षौंदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका त्यहाँका नागरिकको प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् । रासस

तपाईको प्रतिक्रिया