भारतको उडिसामा रेल दुर्घटना, २३३ जनाभन्दा बढीको मृत्यु, ९ सयभन्दा बढी घाइते

  जेठ २०, २०८०

नयाँ दिल्ली, २० जेठ : भारतको ओडिसाको बालासोर जिल्लामा शुक्रवार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २३३ जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ ।

कोरोमण्डल एक्सप्रेसका पटरीबाट रेल खसेको थियो त्यसपछि यो अर्को लाइनमा विपरीत लाइनबाट आउँदै गरेको अर्को रेलसँग ठोक्कियो। जसका कारण यो दर्दनाक दुर्घटना भएको हो ।

ओडिसा रेल दुर्घटनाको छानबिन गर्न आदेश दिइएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त सीआरएसएएम चौधरीले यो ठुलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।

ओडिसाका मुख्य सचिवका अनुसार हालसम्म २ सय ३३ जनाको मृत्यु भएको प्रमाणित भएको छ । सोही क्रममा रेल दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ । जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ ।

पटरीबाट खसेको डिब्बामा कैयौँ यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए तर अन्धकारले काममा बाधा पुगेको थियो ।

तपाईको प्रतिक्रिया