आगामी वर्षको बजेट उत्पादनमा केन्द्रित गछौँ : मुख्यमन्त्री पाण्डे

  जेठ १९, २०८०

कास्की, १९ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक बजेट उत्पादन वृद्धिमा केन्द्रित गर्ने बताउनुभएको छ । सरकारको नीति कार्यक्रम तथा बजेटका विषयमा आज पोखरामा सञ्चारकर्मीसँगको छलफलमा उहाँले साधन स्रोत सिमित भएकाले धेरै उत्साहित हुने अवस्था नरहे पनि उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै जनताका विकास निर्माणका चाहना पूरा गरिने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “जति साधन स्रोत छ, त्यसलाई अधिकतम उपयोग गर्दछौँ र उत्पादनमा बजेट केन्द्रित गर्ने योजना बनाएका छौँ । अनुत्पादक क्षेत्रमा बजेट राख्दैनौँ, कहाँ कहाँ घटाउन सकिन्छ भनेर खोजी गरी रहेका छौँ । मितव्ययी बन्छौँ ।”

मुख्यमन्त्री पाण्डेले स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिने योजना रहेको सुनाउनुभयो । सरकारले आगामी वर्ष सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार निर्माणतर्फ बजेटको सिलिङ तोकेर लगानी गर्ने र खुद्रा योजनामा बजेट खर्च नगरिने उहाँले स्पष्ट पार्नुभयो । सामुदायिक भवनलाई निर्माणलाई जोड दिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

सांसद विकासलाई कोषलाई निरन्तरता दिने कि नदिने भन्ने बारेमा सत्तापक्ष र प्रतिपक्ष सबैसँग छलफल भइरहेको उहाँले बताउनुभयो । “सांसद विकास कोषको बजेट सांसदले खर्च गर्ने होइन, विनियोजित अनुसारको योजना छनोट गर्ने हो । सांसद पनि जनतासँग जोडिएका हुन्छन् । कतिपय प्रतिवद्धता हुन्छन् । त्यसलाई पूरा गर्नका लागि सांसद विकास कोष रहन सक्छ । छलफल भइरहे पनि टुङ्गो लागेको छैन ।” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । सरकारले सञ्चार क्षेत्रका लागि समेत बजेटमा व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया