श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको आईएमएफको भनाइ

  जेठ १९, २०८०

कोलम्बो, १९ जेठ : अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केत देखिएको उल्लेख गरेको छ ।

आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा भनिएको छ, “आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ ।”

आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्वको रक्षा गर्ने, सुशासनलाई सुदृढ बनाउने र कमजोर वर्गको संरक्षण गर्ने महत्वकांक्षी आर्थिक कार्यक्रम कार्यान्वयन गर्ने श्रीलङ्काको दृढ प्रतिबद्धतालाई स्वागत गरेको ओकामुराले बताउनुभयो ।

उहाँले वर्तमान आर्थिक सङ्कटको उत्पत्ति बाह्य झट्काका कारण बढेको नीतिगत गलत कदमबाट भएको बताउनुभयो ।

भ्रमणका क्रममा उहाँले समष्टिगत आर्थिक स्थायित्वका लागि वित्तीय उपायहरू, विशेष गरी राजस्व सङ्कलनका उपायहरूको महत्वबारे अधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।

“समयमै र पारदर्शी तरिकाले ऋण रणनीतिमा वार्ता गर्ने अधिकारीहरूको प्रतिबद्धताबाट म उत्साहित भएँ । ऋणदाताहरूसँगको निरन्तर खुला संवादले कार्यक्रम लक्ष्यहरू अनुरूप ऋण स्थिरता पुनःस्थापना गर्न र पुनर्संरचना सम्झौताहरूमा पुग्न मद्दत गर्नेछ,” उहाँले भन्नुभयो ।

ओकामुराले भन्नुभयो, “श्रीलङ्का आर्थिक सङ्कटबाट गुज्रिरहेको छ, यस संकटबाट असमान रूपमा प्रभावित भएका गरिब र अति जोखिममा रहेकाहरूलाई संरक्षण गर्नु अत्यावश्यक छ ।” रासस

तपाईको प्रतिक्रिया