धुलोले आजित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध

  जेठ १८, २०८०

दमौली, १८ जेठ : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलाले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन् । धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो नियन्त्रणका लागि सम्बन्धित निकायले पहल नगरेको भन्दै स्थानीयले आज मुख्यसडकखण्ड केही बेर अवरुद्ध गरेका हुन् ।

धुलोका कारण स्वास्थ्यमा समस्या बढ्दै गएको र सम्बन्धित निकायले पानी हालेर धुलो नियन्त्रण नगरेका कारण बाध्य भएर केही बेर सडक अवरुद्ध गर्नुपरेको स्थानीय राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणका काममा धुलो उड्छ, तर त्यसलाई नियन्त्रणका लागि नियमित रुपमा पानी हाल्नुप-यो, हामीले दबाब स्वरुप केही बेर सडक अवरुद्ध गरेका हौँ ।” नियमित रुपमा पानी हालिदिए धुलो नउड्ने र सर्वसाधारणलाई सहज हुने उहाँको भनाइ थियो ।

स्थानीय कृष्ण श्रेष्ठले नियमित रुपमा पानी हालेर धुलो नउड्ने वातावरण बनाउनुपर्ने र आफूहरुको माग सुनुवाइ नभए थप आन्दोलन गर्ने बताउनुभयो । राजमार्ग विस्तारको काम भइरहँदा तनहुँ खण्डका विभिन्न ठाउँमा धुलोले स्थानीय आजित छन् । धुलोका कारण राजमार्ग आसपासका सर्वसाधारण प्रत्यक्ष प्रभावित छन् । त्यसका अतिरिक्त हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा पर्दै आएका छन् ।

यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा धुलोले सर्वसाधारण आजित भएपछि विरोधमा उत्रिएका छन् । शुक्लागण्डकीअन्तर्गत खैरेनीटारदेखि कोत्रेसम्मको सडकखण्डमा बढी धुलो उडेर वातावरण दूषित भई स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बाध्य भएर विरोध गर्नुपरेको सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शङ्कर पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा पनि यस विषयमा कुरा उठाउँदै आएका हाँै, केही समय माग सम्बोधन भए पनि पछि उस्तै समस्या आइरह्यो, धुलोले साह्रै मर्का परिरहेको छ ।” पन्तको नेतृत्वमा करिब ३० स्थानीय युवाले सडक निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् । मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्ड को ठेक्का पाएको चिनियाँ कम्पनीका प्रमुख चेन जुनताओ, सोही कम्पनीमा कार्यरत वातावरण इन्जिनियर शिव आशिष सिंखडा, इन्जिनियर मनोज भट्टसहित बसेको बैठकले धुलो नियन्त्रणका लागि नियमित पानी हाल्ने सहमति गरेको छ ।
रासस

तपाईको प्रतिक्रिया