अत्यधिक गर्मीले जनजीवन कष्टकर

  जेठ १८, २०८०

वीरगञ्ज, १८ जेठ : विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो ।

विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको वीरगञ्जका व्यापारी रामकृष्ण साहले बताउनुभयो । यस्तै अत्यधिक गर्मीका कारण जिल्लास्थित अधिकांश सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् ।

अचानक बढेको तापक्रमका कारण जिल्लामा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । गर्मीका कारण झाडापखाला, निमोनिया, भाइरल ज्वरो, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्याबाट पीडित बिरामी बढेका वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता उदयनारायण सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले दैनिक छ सयदेखि आठ सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । त्यसका कारण अस्पतालमा शय्याको अभाव हुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको प्रवक्ता सिंहले बताउनुभयो ।
रासस

तपाईको प्रतिक्रिया