महिलालाई काममा सघाउन परिवारसित छलफल

  जेठ १७, २०८०

टीकापुर, १७ जेठ : घरपरिवारबाट महिला सदस्यलाई घरायसी काममा सहयोग गरी राजनीतिमा सक्रिय बनाउन महिला सदस्यका परिवारका सदस्यसँग छलफल थालिएको छ । घर तथा चुलाचौकामा व्यस्त महिला स्थानीय सरकारको नेतृत्वमा आएपछि घरायसी कामको तालमेल मिलाउन कठिन भएका बेला कैलालीको टीकापुरमा उनीहरूका परिवारका सदस्यसँग छलफल थालिएको हो ।

दलित महिला केन्द्र नेपालले टीकापुर नगरपालिकाका महिला तथा दलित महिला सदस्य र उनीहरूका परिवारका सदस्यसँग महिलालाई राजनीतिमा सक्रिय बनाउन परिवारको साथ अपरिहार्य हुने कुरा सिकाउन थालेको छ । तालिममा महिला सदस्य राजनीतिमा सक्रिय हुँदा, वडा तथा पालिकाका काममा हिँड्दा सहयोग नपाएमा कठिन हुने भन्दै उनीहरूलाई सचेत गराउन थालिएको टीकापुर नगरपालिकाका पूर्व उपप्रमुख केशरी रावल विष्टले बताउनुभयो ।

“राजनीति होस्् या सामाजिक कार्यमा । महिलालाई बढी सहभागी गराउन परिवार सहयोगी हुनुपर्छ”, उहाँले भन्नुभयो, “बालबच्चा स्याहार, घरको सरसफाइ, भान्साको काम, खेतीपातीजस्ता सबै कामबाट महिलालाई उम्कने मौका दिनुपर्छ । महिला फुर्सदिला हुन घरका मानिस सबै कामकाजी भइदिनुप¥यो ।” छलफलमा महिला सदस्यका श्रीमान्, सासु र छोरा–बुहारी र छोरीलाई सहभागी गराउने गरिएको छ ।

टीकापुर–१ का दलित महिला सदस्य चरणदेवी विकका श्रीमान् रुपलाल विकले श्रीमती घरबाहिर काममा हिँड्दा सहकार्य र सहयोग गर्नुपर्छ भन्ने सिकाइ भएको बताउनुभयो । “मैले राजनीतिमा सक्रिय हुन सघाएकै कारण उनी आज यहाँसम्म पुगेकी हुन्”, उहाँले भन्नुभयो, “हिजोको तुलनामा श्रीमतीको क्षमता विकास भएको छ । मैले घरको कामको बोझ उनमा थोपरेको छैन । जुन समयमा पनि उनलाई हिँड्न मिलेको छ ।”

वडा नं ६ का वडा सदस्य भारतीदेवी विकका श्रीमान् गणेश विक विगतमा विदेशमा हुनुहुन्थ्यो । फेरि पनि विदेश जाने तयारीमा रहनुभएका गणेशलाई छलफलमा बसेपछि महिलालाई स्वतन्त्र हिँड्न दिएमा क्षमता विकास हुन्छ भन्ने लागेको छ । “म घरमा हुँदा सबै काम आफैँले गरेर उनका लागि सामाजिक कार्यमा सक्रिय हुने समय मिलाइदिएको छु, म नहुँदा पनि घरका सदस्यलाई सघाउन भनेको छु”, उहाँ भन्नुहुन्छ, “श्रमती सचेत भएमा, उनको क्षमता विकास भएमा परिवार नै सचेत हुनेछन् भन्ने बुझेको छु ।”

वडा नं ३ का वडा सदस्य कमला विश्वकर्माकी सासु मञ्जरी विश्वकर्मा महिला देवीको स्वरुप भएकाले महिलाले काम गर्ने, सेवा गर्ने अवसर पाइरहेका बताउनुभयो । “बुहारी वडा सदस्य छिन्, मैले घरको काममा कुनै सघाएको थिएन, सबै सहयोग छोराले मात्र गथ्र्यो”, उहाँले भन्नुभयो, “अब उनलाई सघाउनेछु, उनी काममा हिँड्दा बालबच्चा हेरिदिने, भान्साको काम गरिदिने छु । बुहारीले त समाजका लागि काम गरिरहेकी रहिछन् ।”

छलफलमा सहजीकरण गर्दै दलित महिला केन्द्र नेपालका डा विन्दु पोखरेलले महिला पारिवारिक सम्बन्धका कारण बढी जिम्मेवारीमा रहने भएकाले ढुक्कले बाहिर हिँड्ने वातावरण बनाउन परिवारका सदस्यको साथ र बुझाइ मिल्न आवश्यक रहेको बताउनुभयो । “पारिवारिक जिम्मेवारी महिलालाई बढी छ । उनीहरू घरको सबै काम सकेर वडा तथा पालिकाका काम, अन्य सामाजिक काममा हिँड्नुपरिरहेको छ”, उहाँले भन्नुभयो, “ महिलालाई पारिवारिक सम्बन्ध राम्रो नभएमा उनीहरू आफ्नो क्षमता विकास गर्न सक्दैनन् । पारिवारिक बुझाइका लागि छलफल फलदायी भएको छ ।”

रातदिन काममा हिँड्नुपर्दा जनप्रतिनिधि महिलाको चरित्रका कुरा बढी उठ्ने भएकाले परिवारको साथ र सहयोग आवश्यक छ । डा पोखरेलले महिला काममा हिँड्दा घरको काममा सघाउँदा पनि भावानात्मक हिंसा भइरहेकाले परिवार खुलेर सहयोगी बन्न्ुपर्नेमा जोड दिनुभयो । “महिलाले धेरै जना भेट्नुपर्ने, जुन समयमा पनि हिँड्नुपर्ने, कहिलेकाहीँ अरुसँग हिँड्नुपर्दा चरित्रका कुरा उठाइन्छ”, उहाँ भन्नुहुन्छ, “घरको काम गर्दा कर्तव्यबोध नगरी सहयोग गरिदिएको महसुस गराउनु हुँदैन । परिवार सहयोगी भएमा महिला धेरै अगाडि बढ्न सक्छन् ।” रासस

तपाईको प्रतिक्रिया