प्रथम कर्णाली करिडोर म्याराथुनको उपाधि जुम्लाका अधिकारीलाई

  जेठ १५, २०८०

सिमकोट, १५ जेठ : कर्णाली कोरिडोरमा पहिलो पटक सुरु भएको रोड रेस २०८० को उपाधि जुम्लाका शेरबहादुर अधिकारीले जितेका छन् । कर्णाली कोरिडोरलाई गुणस्तर बनाउन सरोकारवाला निकायको ध्यान केन्द्रित गर्न र हुम्लामा पनि गाडीमा जान सकिन्छ भन्ने सन्देश फैलाउन आयोजना गरिएको प्रथम कर्णाली करिडोर म्याराथुन २०८० मा अन्य प्रतियोगितालाई पछि पार्दै अधिकारीले उपाधि जितेका हुन् ।

सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाको सिमाना सलिसल्लादेखि सर्केगाडसम्मको नौ किलोमिटर दूरी अधिकारीले ३७ मिनेट ४८ सेकेण्डमा पूरा गरेर उपाधि जितेका हुन् । म्याराथुनमा जुम्लाकै प्रकाश कठायत दोस्रो भएको आयोजक रोयल गैरी साँया युवा क्लबका सचिव कविन्द्र शाहीले बताउनुभयो । उहाँका अनुसार निर्धारित दूरी ३७ मिनेट ४९ सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा हुम्लाका सर्जन रावल तेस्रो भएका छन् । उहाँले निर्धारित दूरी ३९ मिनेट ५५ सेकेन्डमा पूरा गरेका छन् ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र पाँच हजारसँगै प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ । एक्काइस जनाको सहभागिता रहेको रोड रेसको उद्घाटन कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालले गर्नुभएको थियो । कर्णाली प्रदेश खेलकुद परिषद् र सर्केगाड गाउँपालिका प्रायोजक रहेको म्याराथुनलाई तेस्रो धु्रव संरक्षण, रुफट फाउण्डेशन, कर्णाली फुडल्याण्ड र श्रेया कन्स्ट्रक्सनले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया