प्रदेश प्रमुख परियारद्वारा गणतन्त्र दिवसको शुभकामना

  जेठ १५, २०८०

काठमाडौँ, १५ जेठ : कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औँ गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

उहाँले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दिदीबहिनी–दाजुभाइहरूमा सामाजिक न्याय, सुशासन, समृद्धि प्राप्तिको शुभकामना व्यक्त गर्नुभएको हो । आज यहाँ शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले झण्डै अढाइ सय वर्ष पुरानो हिन्दू एकात्मक सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन सबैका लागि स्मरण गर्नलायक भएको बताउनुभयो ।

दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट देशमा विद्यमान विभेद, शोषण, दमनमा परेका वर्ग, जाति उपेक्षित क्षेत्रका उत्पीडित जनसमुदायको मुक्तिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरुप्रति श्रद्धाञ्जलि एवं बेपत्ता घाइते, अपाङ्ग योद्धाहरूको उच्च सम्मान गर्दै उहाँले भन्नुभएको छ, “करोडौँ नेपाली जनताको त्याग एवं बलिदानबाट नागरिकको अधिकार नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ । ती अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दै अघि बढ्नु आजको आवश्यक्ता हो । दिवसले हिमाल, पहाड, मधेस, तराईबीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न प्रेरित गरोस् भन्ने सदिच्छा प्रकट गर्दछु ।”
रासस

तपाईको प्रतिक्रिया