फुटपाथ ओगट्नेलाई पाँच हजार जरिवाना

  चैत ०४, २०७९

दोधारा चाँदनी, चैत ४ : कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रका सडक पेटीमा मालसमान राख्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिका बैठकबाट सो निर्णय गरेर कार्यान्वयन गर्न नगर प्रहरीलाई निर्देशन दिइएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले जानकारी दिनुभयो ।

“हामीले कार्यपालिकाबाट निर्णय गरेर कार्यान्वयनका लागि पठाइसकेका छौँ”, उहाँले भन्नुभयो, “यो सहरलाई सुन्दर र व्यवस्थित बनाउने सबैको दायित्व हो ।” महेन्द्रनगर बजार क्षेत्रका पैदलमार्गमा व्यवसायीले सामान राखेर ओगट्न थालेपछि नगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको हो ।

बजार क्षेत्रका सडक पेटीमा सामान नराख्न पटकपटक आग्रह गरे पनि व्यवसायीले नमानेपछि जरिवाना गर्ने निर्णय गरिएको हो । त्यसैगरी एशियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा निर्माणाधीन १४ किलोमिटर ढलसहितको आधुनिक सडकको काम गुणस्तरीय र छिटो सम्पन्न गर्न नगर प्रमुख पदम बोगटीले निर्देशन दिनुभएको छ ।

उहाँले शुक्रबार सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी, नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरका प्रमुख, नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख, खानेपानीका प्रमुख लगायतसँग छलफल गरेर सडक निर्माणमा देखिएका अवरोध हटाउन निर्देशन दिनुभएको हो ।

नगर प्रमुख बोगटीले सडक निर्माणमा विद्युत् र टेलिकमका खम्बाले समस्या देखिएको बताउनुभयो । “हामीले आयुडिपी, निर्माण कम्पनी, विद्युत्, टेलिकम र खानेपानीका प्रमुखलाई बोलाएर छलफल गरेका छौँ”, नगरप्रमुख बोगटीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया