तुलसीपुरमा दुईवटा चक्रपथ बनाइँदै

  माघ १९, २०७९

तुलसीपुर, माघ १९ : दाङ तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको छ ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाहिरी चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो । “बजारमा सवारीको चाप निकै भयो”, इञ्जीनियर योगीले भन्नुभयो, “त्यसलाई मध्यनजर गरी बाहिरी चक्रपथ निर्माण गर्न लागिएको हो ।”

यसअघि उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण सुरु गरेको थियो । त्यो चक्रपथको काम पनि अगाडि बढ्न सकेको छैन । उक्त चक्रपथको ट्र्याक खोलिएको भए पनि कालोपत्र गर्ने काम भने निकै सुस्तगतिमा छ ।

अहिलेसम्म करिब साढे दुई किलोमिटरमात्रै कालोपत्र भएको छ । उपमहानगरपालिकाले डेढ किलोमिटर कालोपत्र गरेको हो । त्यसपछि केन्द्रीयस्तरको योजना रहेको भन्दै डिभिजन सडक कार्यालय दाङले डिपिआर गरेपछि प्रदेशले कालोपत्रको काम गरिरहेको छ । अहिलेसम्म प्रदेशले एक किलोमिटरभन्दा बढी कालोपत्र गर्न सकेको छैन ।

एक दशक अघिदेखि निर्माण सुरु भएको चक्रपथको काम सुस्तगतिमा अघि बढेको छ । वैकल्पिक सडकका रूपमा लिइएको चक्रपथको काम ढिलो हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ राजापुरबाट रक्षाचौर आँखा अस्पताल–तुलसीपुर–३ डाँडाखुट्टी, तुलसीपुर–८ टिकरी, तुलसीपुर–१२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखाङ्कन गरिएको थियो । यसको २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडाइ रहेको छ ।

साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो । उपमहानगरले आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि रु एक करोड ४० लाख, आव २०७८-७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारमार्फत रु एक करोड ५० लाख बजेट व्यवस्था गरेको थियो ।

साविकका नगरपालिका हुँदा १३औँ नगर परिषद्ले चक्रपथ निर्माणका लागि पारित गरेर काम सुरु गरेको थियो । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएर अन्य गाविस पनि गाभिएपछि केही समय यसको काम रोकिएको थियो । तर जनप्रतिनिधि आएपछि चक्रपथ निर्माणको काम सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेन ।

तपाईको प्रतिक्रिया