चिकित्सकीय सेवासहितको पशु हाटबजार सञ्चालनमा

  साउन ०९, २०७९

भैरहवा, साउन ९ : रुपन्देहीको सियारी गाउँपालिका वडा नं २, च्याङ्गठामा पशु हाटबजार सञ्चालनमा आएको छ । विश्व बैँकको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले हाटबजारको उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ ।

किसानलाई गाईभैँसीको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यका साथ नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले हाटबजार निर्माण गरेको आयोजना प्रमुख गान्धीराज उपाध्यायले बताउनुभयो ।

हाटबजारमा पशु चिकित्सकको व्यवस्था गरिएको छ । जहाँ किसानले ल्याएका पशु चौपायाको निःशुल्क उपचार हुने गाउँपालिकाका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिनुभयो । अत्याधुनिक पशु हाटबजारमा निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा लिन पाइने भएपछि किसानहरु खुसी भएका छन् ।

हाटबजारमा पशु चौपाया विक्री गर्दा उचित मूल्य पाइने र सहजरुपमा विक्री गर्ने वातावरण तयार भएकोे किसानहरुको अनुभव छ । धेरै व्यापारीसँग मोलतोल गर्न सकिने भएकाले पनि किसानहरुले आफ्नो उचित मूल्य पाउने विश्वास गरेका हुन् । “अब हामीले चौपायाको उचित मूल्य पाउनुका साथै भनेको समयमा विक्री गर्न सक्ने अवस्थाको सिर्जना भएको छ”–मायादेवी गाउँपालिकाका किसान दीपचन्द्र यादवले भन्नुभयो ।

अर्का किसान सचितचन्द्र यादवले हातबजारलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । हाटबजार सञ्चालनका लागि समिति गठन गरिएको छ । सियारी च्याङ्गठा पशु हाटबजार सञ्चालक समितिले साप्ताहिक हाटबजार अन्तर्गत हरेक आइतबार बजार सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताउनुभयो ।

हाट बजारमा पशुको स्वास्थ्य जाँच, तिनीहरुको खरिद विक्री, दाना पानी खुवाउने व्यवस्था गरिएको छ । गाईभैँसी विक्री नभए केही दिनलाई होल्डिङ सेन्टरमा राख्न सकिन्छ । किसान तथा व्यापारीलाई खाजा, खाना र आराम गर्ने स्थल बनेको छ ।

पशु हाटबजारमा प्राविधिक र व्यवस्थापकीय सेवा गाउँपालिकाले गर्नेछ । उत्पादनशील गाईभैँसी र मासुका लागि पाडो, राँगो र भैँसी राख्ने व्यवस्था छ । हाटबजार सञ्चालनको व्यवस्थापनका लागि खरिदकर्ताबाट भने तीन सय रुपियाँ लिने गाउँपालिकाले जनाएको छ ।

पशु हाटबजार दुई विघा क्षेत्रफलमा फैलिएको छ । यहाँबाट एक हजार पशु चौपाया खरिद विक्री गर्न सकिन्छ । रुपन्देहीबाट मासुका लागि पाडो, राँगो र भैँसी काठमाडौँ, पोखरा र चितवनमा जान्छ भने उत्पादनशील गाईभैँसी विशेष गरी छिमेकी जिल्लामा लैजाने गरिएको छ ।

तपाईको प्रतिक्रिया