काठमाडौँ, असार १९ : विश्वका विभिन्न मुलुकबीच हुने व्यापारसम्बन्धी काम कारवाहीमा संस्थागत एवं कानूनी आधार उपलब्ध गराउने उद्देश्यले सन् १९९५ जनवरीमा स्थापना भएको विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को १२औँ मन्त्रिस्तरीय सम्मेलन केहीअघि मात्रै सम्पन्न भएको छ ।
नेपालले सन् २००४ मा सदस्यता प्राप्त गरेदेखि नै सङ्गठनका उच्चस्तरीय बैठकमा सहभागिता जनाउने कार्यको निरन्तरतास्वरुप जुन १२ देखि १६ अर्थात् (यही जेठ २९–असार २) सम्म भएको १२औँ मन्त्रिस्तरीय सम्मेलनमा पनि सक्रियताका साथ आफ्नो सहभागिता जनाएको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडू तथा मन्त्रालयका सचिवसहितको टोलीले सहभागिता जनाउँदै नेपालका तर्फबाट विभिन्न अडान प्रस्तुत गरेको थियो ।
डब्लुटिओको उद्देश्य सबैले सबैका लागि सोच्ने र सबैले सबैका लागि सँगै लिएर हिँड्ने हो । यसको अर्काे उद्देश्य भनेको एकले अर्काेलाई सहयोग गर्ने, व्यापारलाई व्यापकता दिने र विश्वबजारलाई चलायमान गराउने हो । सङ्गठनले नियमका आधारमा विश्वका सबै मुलुकलाई एकीकृत गरी वस्तु र सेवा व्यापारको क्षेत्रमा सघाउ पु¥याउने लक्ष्य राखेको छ । सङ्गठन हाल अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी वार्ता गर्ने, अन्तर्राष्ट्रिय व्यापारका सन्दर्भमा उठेका विवादको समाधान गर्ने र व्यापार नीतिको समीक्षा गर्ने साझा मञ्चका रुपमा रहेको छ । तर परिस्थितिअनुसार कतिपय समस्या र चिन्ता अहिले पनि कायमै छ ।
अहिलेको अवस्थामा भने विश्वका सदस्य मुलुक आआफ््नो चिन्तामा केन्द्रित भएको पाइएको छ । जसले व्यापार असन्तुलनलाई बढावा दिने गर्छ भने कम विकसित मुलुक लाई नकारात्मक असर पर्नसक्छ । त्यही विषयलाई नेपालले यसपटकको १२औँ मन्त्रिस्तरीय सम्मलनको प्राथमिकताको क्षेत्र बनाएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक बैठक आयोजना गरी सम्मेलनमा नेपालको सहभागिता र उठाएका सवालका विषयमा जानकारी गराएको छ ।
बैठकमा मन्त्रिस्तरीय सम्मेलनमा सहभागी मन्त्री बडूले भन्नुभयो, “हाम्रो असुविधाका कारण हामी चिन्ता गरिरहेका छौँ, विकसित राष्ट्रले पनि आफ्नो मात्रै चिन्ता ग¥र्यो भने हाम्रो त बेहाल हुनेभयो, त्यो चिन्ता अझ गम्भीर लाग्यो, त्यसकारण हामीले त्यो कुरालाई सम्मेलनमा उठाएका छौँ ।” योसँगै नेपालले सङ्गठनको संरचनाको सवाललाई समेत गम्भीरताका साथ उठाएको छ ।
मन्त्री बडूका अनुसार अहिलेको ट्रेन्ड ‘सेल्फ प्रोडक्सनालिज्म’मा जान थालेको महसुस भएको छ । “विकसित राष्ट्रले पनि सेल्फ प्रोडक्सनमा मात्रै सोच्यो भने कमजोर राष्ट्रको अवस्था के होला ? त्यसमा पनि ध्यान जानुप¥यो भनेर उठाएका छौँ”, मन्त्री बडूले थप्नुभयो, “कोभिडका कारण होस् या रुस–युक्रेनको युद्धका कारणले होस्, विश्व अर्थतन्त्रमा परेको अप्ठयारोमा आआफ्नो ‘इन्ट्रेष्ट’मा मात्रै काम हुन थाल्यो भने समस्या आउनसक्छ ।”
नेपालमा केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको सन्दर्भ प्रस्तुत गर्दै मन्त्री बडूले अहिलेको मुद्रा सञ्चितिमा पर्न थालेको नकारात्मक दबाबका कारण केही समय रोक्नुपर्ने तर धेरै लामो समय नेपालले पनि रोक्न नसक्ने बताउनुभयो । अरु मुलुकले धेरै लामो समयसम्म निर्यात रोकिदियो भने विश्वबजारको आपूर्तिमा नै समस्या आयो भने के होला भन्ने चिन्ताका साथ सम्मेनलमा आवाज उठाएको उहाँले जानकारी गराउनुभयो ।
उहाँले सम्मेलनका दौरान भारतको आपूर्ति तथा वाणिज्यमन्त्रीसँगको छलफलमा समेत त्यही कुरा र खाद्य सुरक्षाका लागि चिनी र मलका विषयमा कुरा उठाउँदा भारतले आफ्नो छिमेकी मुलुकलाई समस्या पर्न दिँदैनौँ है भनेर प्रतिक्रिया दिएको बताउनुभयो । यस्ता विषयमा कुटनीतिकरुपमा छलफल गर्न बाँकी नै भए पनि त्यसको तयारी गर्न जरुरी रहेको पनि उहाँले औँल्याउनुभयो ।