कृषकलाई प्रविधि हस्तान्तरण गर्दै स्थानीय तह

  असार १७, २०७९

दमौली, असार १७ : तनहुँका स्थानीय तहले कृषकलाई कृषि उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्न थालेका छन् । परम्परागतरूपमा खेती गर्दै आएका कृषकलाई यान्त्रिकरणमार्फत व्यावसायिक बनाउन स्थानीय तहले कृषि उपकरणमा जोड दिएका हुन् ।

आँबुखैरेनी गाउँपालिकाले कृषकलाई कृषि उपकरण प्रदान गरेको छ । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषकलाई उपकरण सहयोग गरेको हो । गाउँपालिकाको स्वीकृत कार्यक्रमबमोजिम कृषि सहकारी, कृषक समूह तथा कृषि फार्मलाई डिजिटल काटा र मिनीटिलर सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले १५ वटा डिजिटल काटा र आठवटा मिनीटिलर (हाते ट्र्याक्टर) वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कृषिमा व्यावसायीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । “कृषकलाई प्रविधि दिएर कृषिमा आधुनिकीकरण गर्ने सोच राखेका छौँ”, उहाँले भन्नुभयो । भानु नगरपालिकाले पनि कृषक समूहलाई हाते ट्र्याक्टर र कम्वाइन मिल वितरण गरेको छ । उक्त नगरपालिका–४ चुँदीस्थित खुमलटारी बडहरे कृषक समूहलाई सात टान हाते ट्र्याक्टर वितरण गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

कृषकको मागका आधारमा सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । “यान्त्रिकरणमार्फत कृषकलाई व्यावसायिक बनाउन विभिन्न सामग्री प्रदान गरेका हौँ, यसले कृषक खुसी भएका छन्”, नगरप्रमुख त्रिपाठीले भन्नुभयो । परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेकाले लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण दिइएको उहाँले बताउनुभयो ।

यसैगरी तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई गण्डकी प्रदेश सरकारले अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको छ । प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले समूहलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको हो । चक्लाबन्दी गर्ने कृषक समूहलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले ७५ प्रतिशत अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । ट्र्याक्टर का लागि कृषक समूहले २५ प्रतिशत लागत साझेदारी गरेका छन् ।

बन्दीपुर गाउँपालिकाका पूर्वअध्यक्ष पूर्णसिं थापाले गत वर्षदेखि चक्लाबन्दी थालेको कृषि समूहलाई गाउँपालिकाका तर्फबाट पनि कृषि औजार सहयोग हुँदै आएको बताउनुभयो । समूहले १६४ रोपनी क्षेत्रफलमा चक्लाबन्दीमार्फत खेती गर्दै आएको छ । चौविस कृषकको खेतलाई एउटै बनाई चक्लाबन्दी गरिएको समूहकी अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “पहिला–पहिला आ–आफ्नै जग्गामा खेतीपाती गर्दै आएका थियौँ, सरकारले चक्लाबन्दीको अवधारणा ल्याएपछि सबै जग्गालाई एउटै बनाई खेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा खेतीपाती गर्न पनि सहज हुने र उत्पादन पनि वृद्धि हुने गरेको छ ।”

बन्दीपुरमा एक हजार ५०० रोपनीमा चक्लाबन्दीमार्फत खेती भइरहेको छ । गाउँपालिकाले गत वर्ष ३०० साना ट्र्याक्टर अनुदानमा कृषकलाई वितरण गरेको थियो । जिल्लाकै म्याग्दे गाउँपालिकाले पनि केही समय अगाडि कृषकलाई हाते ट्र्याक्टर र सिँचाइ गर्नका लागि पानी तान्ने मोटर हस्तान्तरण गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार ४६ थान हाते ट्र्याक्टर र १३ थान पानी तान्ने मोटर वितरण गरिएको छ । रु ३२ लाख २० हजार मूल्य बराबरका कृषि सामग्री अनुदानमा वितरण गरिएको उहाँले बताउनुभयो ।

निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले प्रविधिसँगै सीप पनि प्रदान गर्न थालेको छ । गाउँपालिकाले यसअगाडी हाते ट्र्याक्टर वितरण गरेका कृषकलाई मर्मतको तालिमसमेत दिइसकेको अधिकृत अधिकारीले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहले पनि कृषकलाई कृषि उपकरण सहयोग गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया