६२ सङ्क्रमित थपिए, १९ जना सङ्क्रमणमुक्त, मृत्यु शुन्य

  असार १५, २०७९

काठमाडौँ, असार १५ : कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण आज ६२ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले एक हजार ६२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले काठमाडौँ ३९ र ललितपुरमा छ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ जना रहेका छन् । विगत २४ घण्टामा १९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४४५ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज एक लाख ८४ हजार ५४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको छ । अहिलेसम्म होम आइसोलेसनमा २५६, संस्थागत आइसोलेसनमा पाँच जना र एक जनाको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया