एक करोड ३३ लाखको हाटबजार गाडी पार्कमा परिणत

  असार १५, २०७९

तम्घास, असार १५ : रेसुंगा नगरपालिकाले निर्माण गरेको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत भएको छ ।

किसाले उत्पादन गरेका वस्तुलाई सहज रुपमा विक्री वितरण गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार अहिले नगरपालिकाका सवारी साधन र विद्यालयको बस पार्किङको रुपमा परिणत भएको छ ।

हालसम्म एक करोड ३३ लाख लागत लागेर निर्माण भएको हाटबजार अहिले गाडी पार्कको रुपमा परिणत हुँदा राज्यको लगानी बालुवामा पानी भने जस्तै भएको प्रमाणित भएको छ ।

यता, नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले हाटबजार बन्द हुनु दुःखद भएको बताउनुभयो । उहाँले हाटबजार बन्द हुँदा किसानहरु र सेवाग्राही सबै मारमा परेकाले तत्काल हाटबजार खुलाउन नगरपालिकाको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

हाटबजार चलाएमा आउँदा कृषक र उपभोक्तालाई सहजता आउने र कोही पनि बिचौलियाको मारमा नपर्ने उहाँको भनाइ छ । हाटबजार वैशाख २६ गते देखि बन्द भएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिनुभयो । नगरपालिकाले कर्मचारीहरुलाई खटाएर हाटबजार सञ्चालन गरेको थियो ।

रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुंगा नगरपालिकाका कर्मचारीहरु खटाएर हाटबजार सञ्चालन गर्न नसकिने भएकाले लिजमा दिने गरी तयारी गरेको बताउनुभयो । किसानले उत्पादन गरेका कृषि उपजहरुलाई सहज रुपमा विक्री वितरण गर्न नगरले उचित प्रबन्ध गर्ने समेत पन्थीको दाबी छ ।

उक्त हाटबजार निर्माणमा साबिकको जिल्ला कृर्षि विकास कार्यालयको चौध लाख, साबिकको जिल्ला विकास समितिको आठ लाख, जिल्ला पशुसेवा कार्यलय गुल्मीको दश लाख, प्रदेश सरकार र नगरपालिकाको गरी कुल एक करोड ३३ लाख लगानी भएको छ ।

तपाईको प्रतिक्रिया