वर्षाले धनगढीको केही भू–भागमा डुवानमा

  असार १५, २०७९

धनगढी, असार १५ : हिजो रातिबाट भएको वर्षाका कारण धनगढीको केही भू–भागमा डुवान भएको छ । उपयुक्त निकास नहुँदा वर्षाको पानी जमेर डुवान भएको हो । धनगढीको हसनपुर क्षेत्र, ग्यालेक्सी माध्यमिक विद्यालय क्षेत्र, मुख्य सडक लगायतको क्षेत्रमा डुवान भएको छ । डुवानका कारण विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या भएको थियो ।

डुवान समस्या समाधानका लागि खोलानालामा भएको अतिक्रमण हटाउने कार्य धनगढी उपमहानगरपालिकाले थालेको छ । यद्यपि, त्यो कार्यले पूर्णता पाइसकेको छैन । नाली लगायतका क्षेत्रमा विभिन्न सामग्री थुपारिएकाले पानीको सहज निकास हुन सकेको छैन ।

यसैबीच, राति भएको भारी वर्षाका कारण कान्द्रा, पथरैया, काँढा, मोहना लगायतका नदीमा पानीको सतह बढेको छ । बाढी आइरहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । ठूलो वर्षाका कारण नदीहरुमा बाढी आइरहेको भजनीका खेम पाण्डेयले जानकारी दिनुभयो ।

यसैगरी, वर्षाका कारण धनगढी उपमहागरपालिका–२ रामजानकी टोलका ७१ वर्षीया देवी ओझाको कच्ची घर भत्किएको छ । सुतिरहेको अवस्थामा घर भत्किएपछि ओझाको टाउको र हातमा चोट लागेको छ । उहाँको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया