मन्त्री निवास सरेपछि पुरानोबारे अन्यौल कायम

  असार ११, २०७९

काठमाडौं, असार ११ : भैँसेपाटीमा निर्माणाधीन रहेको मन्त्री निवासको काम सम्पन्न भएपछि संघीय मन्त्रीलाई उता सार्ने तयारी छ ।

प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष एवम् उपाध्यक्षको आवास पनि यहिँ बन्ने भएकाले उहाँहरुलाई पनि सार्ने तयारी छ । त्यसपश्चात, ललितपुर हरिहरभवनमा रहेको हालको मन्त्री निवास खाली हुनेछ ।

निर्माणाधीन मन्त्री निवासको काम भने जारी नै छ । विशेष भवन निर्माण आयोजना निर्देशक दीलिपशेखर श्रेष्ठका अनुसार नयाँ बन्दै गरेको मन्त्री निवास सम्पन्न हुन समय लाग्ने देखिएकाले एक वर्षभित्र मन्त्रीलाई नयाँ भवनमा सारिने बताउनुभएको छ ।

गत वैशाख महिनामै निर्माण सक्ने योजना रहे पनि निर्माण कम्पनीको ढिलाई, कोरोना महामारी, निर्माणवस्तुको मूल्यवृद्धि हुँदा निर्माण समयमै सम्पन्न हुन सकेन । अब नयाँ भवनमा मन्त्रीलाई सारेपछि पुल्चोकस्थित पुरानो मन्त्री निवासलाई के गर्ने ? भन्ने प्रश्न उब्जिएको छ ।

डेढ वर्ष अघि उक्त भवनलाई विदेशी पाहुना आउँदा राख्ने गेष्टहाउस निर्माण गर्ने कुरा चले पनि अहिले भने के गर्ने ? भन्ने अन्यौल रहेको आयोजना निर्देशक श्रेष्ठको भनाइ छ ।

‘मन्त्रीहरुलाई नयाँ निवासमा सारेपछि पुरानो निवासलाई विदेशी पाहुना आउँदा राख्ने गेष्ट हाउसको रुपमा विकास गर्ने निर्णय भएको थियो,’ श्रेष्ठले भन्नुभयो ‘त्यतिबेला डिपिआर पनि तयार भएको थियो तर पछि त्यो निर्णय कार्न्यान्वयन नगर्ने निर्णय भयो ।’

डेढ वर्षअघि प्रधानमन्त्री केपी ओलीको पालामा विदेशी पाहुना राख्नको लागि गेष्ट हाउस निर्माण गर्ने भनेर डिपिआर समेत तयार भएको आयोजना निर्देशक दीलिपशेखर श्रेष्ठ बताउनुहुन्छ ।

काठमाडौंमा खुल्ला ठाउँहरु धेरै नभएकाले उद्यानको रुपमा विकास गर्ने कि भनेर छलफल समेत चलेको श्रेष्ठको भनाइ छ । ‘अहिले काठमाडौंमा खुल्ला क्षेत्र धेरै नभएकाले पुरानो मन्त्री निवासलाई खुल्ला उद्यान बनाउने छलफल चलेको छ । तर, अहिलेसम्म केही निर्णय भने भएको छैन,’ उहाँले भन्नुभयो ।

मन्त्रीहरुलाई नयाँ भवनमा सारेपछि मात्र पुरानो भवनलाई के गर्ने भन्ने ? टुङ्गो लाग्ने श्रेष्ठ बताउनुहुन्छ । हाल मन्त्रीहरु रहेको निवास ५० वर्ष पुरानो भवन भएकाले अब यसलाई भत्काउनु पर्ने आवश्यकता पनि रहेको उहाँको भनाइ रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया