नागरिकता विधेयक असारभित्रै पारित हुन्छ : नेता भण्डारी

  असार १०, २०७९

महोत्तरी, असार १० : लोेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले विगतदेखि अल्झँदै आएको नागरिकता विधेयक अब चाँडै संसद्बाट पारित हुने बताउनुभएको छ ।

महोत्तरीको औरही नगरपालिकाको १०औँ नगरसभाको आज उद्घाटन गर्दै उहाँले सत्तारुढ गठबन्धनसँग चाँडै नागरिकता विधेयक पारित गरिने सहमति भएको बताउनुभयो । यो विधेयक पारित भएपछि मधेसको विगतदेखि बल्झँदै रहेको समस्या समाधान हुने उहाँको विश्वास छ ।

“सत्तारुढ पाँचदलीय गठबन्धनसँग हाम्रो भएको सहमति पालना भए यही असारभित्रै विधेयक पारित हुनेछ”, नेता भण्डारीले भन्नुभयो, “सहमति पालना हुने विश्वासले यो चाँडै पारित हुन्छ भन्न सकिएको हो ।” वैवाहिक अङ्गीकृत महिलाले यसअघि पाउँदै आएका नागरिकताको सहुलियत अहिलेको विधेयक मस्यौदामा फरक पारिँदा समस्या भएको भण्डारीको भनाइ छ । मस्यौदामा नेपालीसँग विवाह भएकी विदेशी महिलाले नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने लेखिएको सच्याउनुपर्ने आपूmहरूको माग रहेको भण्डारीले स्पष्ट पार्नुभयो ।

भण्डारीले नगरसभाबाट किसानलाई अधिकाधिक सहुलियत र शैक्षिक विकासमा जोड दिन स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गर्नुभयो । नगरसभामा औरहीका नगरप्रमुख प्रदीप खड्काले आगामी आर्थिक वर्ष २०७९-८० का लागि रु ४४ करोड २४ हजारको अनुमानित आय–व्ययको बजेट र नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत गर्नुभयो । समारोहमा मधेस प्रदेशसभाका सदस्य अभिराम शर्मा र जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमारलाल कर्णसहितका वक्ताले नगरसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया