विपद्बाट प्रभावितलाई राहत वितरण गरिँदै

  असार ०६, २०७९

सुदूरपश्चिम, असार ६ : गत असोज कात्तिक महिनामा भएको वर्षापछि उत्पन्न प्राकृतिक विपद्बाट कैलाली जिल्लाको धानबालीमा पुगेको क्षतिबाट प्रभावित किसानलाई राहत वितरण गर्न थालिएको छ ।

बालीमा क्षति पुगेर प्रभावित भएका किसानलाई जिल्ला विपद् व्यवस्थापन समितिले गरेको निर्णय र तोकिएको मापदण्डअनुसार राहत रकम उपलब्ध गराउन लागिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एक कठ्ठादेखि १० कठ्ठासम्म जग्गा भएका प्रभावित साना किसानलाई प्रतिकठ्ठा रु ३२५ का दरले राहत रकम उपलब्ध गराउन लागिएको छ ।

दस कठ्ठादेखि ६० कठ्ठा (तीन बिघा) भएका प्रभावित मझौला किसानलाई प्रतिकठ्ठा रु १२५ र तीन बिघाभन्दा माथि जग्गा भएका प्रभावित ठूला किसानलाई प्रति कठ्ठा रु ७५ का दरले राहत रकम वितरण गर्न लागिएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले बालीमा क्षति पुगेर प्रभावित भएका किसानको नाममा बैंक रहेको खातामा राहत रकम जम्मा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावित किसानलाई राहत वितरण गर्न सम्बन्धित पालिका तहमा रकम पठाइसकिएको छ ।’’

गोदावरी नगरपालिका कार्यालय कृषि फाँटका प्रमुख नन्दी मल्लले राहत उपलब्ध गराउन रकम पालिकामा आइसकेकोले आगामी केही दिनभित्रमा प्रभावित किसानको खातामा रकम पठाउन लागिएको जानकारी दिनुभयो ।

बाली नालीमा भएको क्षति बढीमा रु ५५ हजारसम्म मात्र राहत रकम वितरण गर्न पाइने मापदण्ड सरकारले बनाएको जनाइएको छ । राहत रकम उपलब्ध गराउन नेपाल सरकारले कैलालीका लागि पहिलो चरणमा रु सात करोड र दोस्रो चरणमा रु १४ करोड ९७ लाख रकम पठाएको जनाइएको छ ।

जिल्लाका ठूलो सङ्ख्याका प्रभावितलाई राहत उपलब्ध गराउन पहिलो चरणमा पठाइएको रकम कम हुने देखिएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयले दोस्रो चरणमा थप रकम निकासा गरी पठाएको हो । असोज कात्तिकको अविरल वर्षासँगै भएको पहिरो बाढी र डुबानका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका जिल्ला धनजनको ठूलो क्षति पुगेको थियो ।

घटनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित क्षेत्रको स्थलगतरूपमा अध्ययन निरीक्षण गर्नुभएको थियो । प्रभावितको तथ्याङ्क सङ्कलन, अध्ययन छानबिन र तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गर्न लागेको समयलगायत कारण राहत रकम वितरणमा केही ढिलाइ भएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

कैलाली जिल्लामा मात्रै ८३ हजार ३५९ किसानको ४८ हजार १२४ हेक्टर जग्गामा गरिएको धान बालीमा क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया