२६८ आमालाई बीउबिजन वितरण

  असार ०४, २०७९

कञ्चनपुर, असार ४ : कृष्णपुर नगरपालिका–२ बाणीका सुनौलो हजार दिनका आमालाई आज बीउबिजन वितरण गरिएको छ । नगरपालिकाको कृषि शाखाले वडाका २६८ आमालाई बीउबिजन वितरण गरेको हो ।

आमा र शिशुको पोषणमा सुधार ल्याउनका लागि बीउबिजन वितरण गरिएको वडाध्यक्ष अर्जुन साउदले बताउनुभयो । “सन्तुलित र पौष्टिक आहारको कमीका कारण हुने मातृशिशु मृत्युदर घटाउनका लागि यस कार्यले सघाउ पु¥याउँछ”, उहाँले भन्नुभयो, “खेतबारीमा पौष्टिकताले भरपूर तरकारी खेती गरी महिला स्वरोजगारसँगै तरकारीको उपभोग गरी स्वस्थ हुन्छन् । आमा स्वस्थ भए शिशुले दूध चुस्न पाउँछन् र स्वस्थ हुन्छन् ।”

सुनौलो हजार दिनका आमाहरूलाई बीउबिजन खेतबारीमा रोप्ने, गोडमेल गर्ने, रोग किरा रोकथाम गर्नेलगायत बारे एक दिने तालिमसमेत दिइएको कृषि शाखाका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

महिलालाई करेसाबारी तरकारी खेती गरी सहजै उपभोग गर्न पाउन भनेर तालिमसँगै बीउबिजन वितरण गरिएको उहाँले उल्लेख गर्नुभयो । बीउबिजन उपलब्ध गराइएका अधिकांश महिला आर्थिकरूपमा कमजोर अवस्थाका छन् । “शिशुलाई जन्म दिएका अधिकांश ग्रामीण क्षेत्रका महिला आर्थिक विपन्नताका कारण बजार क्षेत्रबाट तरकारी खरिद गरेर खान सक्दैनन्” उहाँले भन्नुभयो, “घरमै तरकारी खेती गरेर सहजरूपमा खान पाउन् भनेर यस कार्यमा जोड दिएका छौँ ।”

तपाईको प्रतिक्रिया