कञ्चनपुर, असार ३ : नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका–२ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३औँ स्थापना दिवस एवं दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन आउनुभएका प्रधानमन्त्री देउवालाई समाजका अध्यक्ष कृपाराम रानाले बालिकाको न्यायका लागि पाँच बुँदे ज्ञापनपत्र बुझाउनुभएको हो । प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, बालिकालाई निःशुल्क शिक्षा, भरपोषणको व्यवस्था र सामाजिक सुरक्षा हुनुपर्ने माग राखिएको छ ।
गत जेठ १० गते ११ वर्षीया ती बालिकामाथि स्थानीय दिनेश मालीले यौनजन्य हिंसा गरेका थिए । त्यसपछि मालीले आत्महत्या गरेका थिए । समाजले पीडित बालिकालाई न्यायका लागि गृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौँमा पनि मागपत्र बुझाएको थियो । समाजका अध्यक्ष रानाले पीडित बालिकामाथि यौनजन्य हिंसा गरी कुटपिट गरी ज्यान मार्ने खोजिएकाले छानबिन गरी सत्यतत्य बाहिर ल्याउनुपर्ने बताउनुभयो । ज्ञापनपत्र बुझदै प्रधानमन्त्री देउवाले हिंसाबाट पीडित बालिकालाई न्याय दिलाउनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।