मानसिक स्वास्थ्यका बिरामीको निःशुल्क स्वास्थ्य बीमा

  जेठ १८, २०७९

दैलेख, जेठ १८ : जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्यमा समस्या परेका बिरामी र तीनका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । एघार वडा रहेका नगरपालिकामा हालसम्म मानसिक स्वास्थ्य समस्यामा परेका १८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

विनियोजित बजेटबाट निःशुल्क बीमाका लागि रु सात लाख ५४ हजार ६०० खर्च भएको शाखा प्रमुख खड्काले बताउनुभयो । उहाँले नारायण–५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श दिने गरिएको बताउनुभयो ।

मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले उहाँहरूसहित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताउनुभयो ।

नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समस्यामा परेका १८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताउनुभयो ।

प्रमुख खड्काले नागरिकमा पछिल्लो समय मानसिक समस्या बढ्दै गएकाले नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्तामार्फत सेवा दिँदै आएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता प्रकारका नागरिक लक्षित कार्यक्रमहरूलाई नगरपालिकाले निरन्तरता दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया