मङ्गलबारे, जेठ १७ : निर्माण थालिएको नौ वर्ष हुँदा पनि इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने पक्की पुल अझैसम्म पूरा हुन हुनसकेको छैन । विसं २०७४ मै सम्पन्न गर्नेगरी २०७१ असार २७ मा ठेक्का सम्झौता गरिएकोे पक्की पुल हालसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् । हिउँदमा त खोलाबाट नै गाडी वारपार गर्छन् तर बर्खायाम सुरु भएसँगै पारीको गाडी पारी नै वारीको वारी नै हुनेहुँदा खाद्यान्न ढुवानी गर्न र बिरामी पर्दा समस्या हुने गरेको छ । पक्की पुलदेखि नजिकै माथि झोलङ्गे पुल छ ।
स्थानीयवासीले सोही झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दै आएका छन् । पुलको मुख दुवैतिर निकै जोखिम मोलेर मोटरसाइकल तार्नुपरेको सम्बद्ध यात्रुको गुनासो छ । इलाम नगरपालिका–५ को बरबोटे र माइजोगमाई ५ को सोयाङ जोड्ने दूधाङमा पक्की पुल निर्माणका लागि २०७१ असार २७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । सम्झौतामा २०७४ सालमा नै सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि पुल हालसम्म सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् ।
पटक–पटक म्याद थप भएर पनि निर्माण सम्पन्न नहुँदा पुलबाट आवतजावत गर्न पाइने आशामा रहेका यहाँका बासिन्दामा उत्तिकै निराशा छाएको स्थानीयवासी बालकुमार पोख्रेलले बताउनुभयो । उहाँले वर्षौंदेखिको आशा अब नयाँ जनप्रतिनिधिले पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । डिभिजन सडक कार्यालयका अनुसार सम्झौता अवधिमा काम नसकिएपछि २०७४ पुस २७ सम्मलाई पहिलो पटक म्याद थपिएको हो । नेशनल निलगिरि जेभीले ठेक्का पाएर पनि निर्माण सम्पन्न गर्न सकेको छैन ।
उक्त कार्यालयले रु पाँच करोड ८५ लाखमा ठेक्का लगाएको सो काम निलगिरि जेभीले दुई वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । इलाम सदरमुकामबाट माइजोगमाई केन्द्रसम्म दैनिक दर्जनौँ सवारी साधन चल्छन् । इलाम र नयाँ बजार करिब २२ किलोमिटरमा सडकबीचको पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीयवासी र चालकको भनाइ थियो । अर्का स्थानीयवासी टीकानाथ ढुङ्गानाले हिउँदमा जे भए पनि बर्खायाममा भने सास्ती खेप्नुपर्ने भएको बताउनुभयो । यो पुलको एकातर्फ नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र अर्कातर्फ पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो ।
पुल सञ्चालनका लागि अब पहल गरिने इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बताए । अब यो पुल निर्माण गर्ने कम्पनीसँग छलफल गरेर अघि बढ्ने इलाम नगरपालिकाका प्रवक्ता नुतेदेव दुलालको भनाइ थियो । उहाँले के कारणले यति समय भइसक्दा पनि यो पुल निर्माण हुन नसकेको हो यस विषयमा आफूहरुले चासो बढाउने बताउनुभयो ।