बागमती प्रदेशसभा बैठक : प्रदेश प्रमुख शर्माद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

  जेठ १६, २०७९

मकवानपुर, जेठ १६ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सार्वजनिक नीति तथा कार्यक्रममा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयाघात, मस्तिष्काघातलगायत रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बढाउने, मिर्गौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवालाई प्रदेश मातहतका सबै अस्पतालहरूमा छिट्टै विस्तार गर्ने उल्लेख गरिएको छ ।

सो नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार प्रदेश सरकारले सशस्त्र सङ्घर्ष (जनयुद्ध) र जनआन्दोलनको घाइतेलाई प्रादेशिक अस्पतालहरूबाट निःशुल्क उपचारको व्यवस्था, आयुर्वेद औषधिमा आत्मनिर्भर हुन चितवनको रत्ननगरमा आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालन गर्ने लक्ष्य राखेको छ । त्यसैगरी, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धन तथा परामर्श सेवा प्रवाह गर्न ‘एक माध्यामिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई थप प्रभावकारी बनाई विस्तार गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

प्रदेश प्रमुख शर्माले हेटौँडा, भक्तपुर, त्रिशूली, सिन्धुली, धादिङ, बकुलहर र पशुपति चौलागाईँ स्मृति अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालका रूपमा स्तरोन्नति गर्ने, हेटौँडा अस्पताललाई दुई सय शय्याको अस्पतालमा स्तरोन्नति गरी धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मिर्गौला प्रत्यारोपण सेवासमेत विस्तार गरिने बताउनुभयो । उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तार र सुदृढीकरण गर्दै लगिने, प्रतिष्ठानअन्तर्गत आफ्नै अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रम रहेको बताउनुभयो ।

प्रदेश सरकारले प्रदेशका ब्लड बैंकबाट विपन्न र आकस्मिक सेवामा आउने नागरिकलाई उपलब्ध गराइने अनुदानलाई निरन्तरता दिने, प्रदेश भित्रका स्वास्थ्य संस्थाहरूको अभिलेख र प्रतिवेदन कार्यलाई व्यवस्थित गर्न डिजिटल स्वास्थ्य सूचना प्रणाली लागू गर्ने, ‘बागमती प्रदेशको इच्छा, समृद्धिका लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने, सामुदायिक क्याम्पसमा अध्ययनरत छोरीबुहारीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

यस्तै, नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण विकास गर्ने थलोका रूपमा रहेको बाल विकास केन्द्रलाई स्थानीय तहको सहकार्यमा नमूना केन्द्रका रूपमा स्तरोन्नति गर्ने कार्यक्रमलाई निरन्तरता दिने, विद्यालयमा रहेको पूर्वप्राथमिक कक्षाको सिकाइलाई प्रभावकारी बनाउन स्थानीय तहको सहकार्यमा भौतिक संरचना सुधार तथा आधुनिक पाठ्य सामग्री तयार गरी प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गर्ने, ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गर्ने उल्लेख छ ।

त्यसैगरी, सरकारले प्रदेशमा रहेको सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक रूपान्तरणका लागि मकवानपुर, धादिङ र चितवनको चेपाङ जाति बसोबास क्षेत्रलाई चेपाङ विशेष संरक्षित क्षेत्र बनाउने, यौनजन्य दुव्र्यवहार, बालविवाह, मानव बेचबिखन र विद्युतीय अपराधविरुद्ध सचेतना जगाउन ‘हाम्रो ध्यान, युवा सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ ।

प्रदेश खेलकुद विकास र विस्तारका लागि प्रदेश खेलकुद परिषद् र स्थानीय तहसँगको सहकार्य र साझेदारीमा प्रदेशस्तरीय रङ्गशाला, खेल पूर्वाधारहरूको निर्माण र संरक्षण गर्ने, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने, एक स्थानीय तह एक खेल मैदानको नीति ल्याइने भएको छ ।

‘एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा’ अभियानलाई अगाडि बढाउन, प्रदेशस्तरका विद्युत् आयोजनाहरूको विकास, अनुगमन तथा नियमनलगायत समग्र व्यवस्थापनका लागि कानुन तर्जुमा गर्ने, प्रदेश कृषि विकास ऐनको तर्जुमा गर्ने, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गर्ने, पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालनमा ल्याउने, प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने प्रदेश प्रमुख शर्माले उल्लेख गर्नुभयो ।

उहाँले, प्रदेश सरकारले प्रदेशभित्रका गरिब तथा विपन्न कम्तीमा दश हजार युवालाई रोजगारी प्रदान गर्न ‘मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम’ सञ्चालन गर्ने, प्रत्येक स्थानीय तहमा एक वडा एक साना उद्योग कार्यक्रम सञ्चालन गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न नेपाल आर्ट भिलेजद्वारा ललितपुर जिल्लाको गोदावरी नगरपालिकाअन्तर्गत डुकुछाप र छम्पी गाउँमा निर्माणाधीन ७२ फिट अग्लो भैरव देवताको मूर्ति निर्माणस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहजीकरण गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

यसैगरी, प्रदेश गौरवको आयोजनाका रूपमा फर्पिङ–हुमाने भञ्ज्याङ–कलङ्की–हेभी सडक यसै आर्थिक वर्षमा निर्माण सुरु गर्ने, बागमती प्रदेश चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन सुरु गर्ने, सडक दूरी र यात्रा समय घटाउन सम्भाव्यता अध्ययनका आधारमा सङ्घ तथा स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा सुरुङ मार्गको विस्तृत अध्ययन कार्य अगाडि बढाउने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, प्रदेश सरकारले भौतिक निर्माणको ठेक्का कार्यान्वयनको क्रममा निर्माण कार्यतालिका (क्यालेन्डर अफ अपरेशन) को पालना गराउने र सोका आधारमा भौतिक प्रगतिको अनुगमन गर्ने भएको छ । उक्त बैठक सुरु भएपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सरकारको नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्न एकप्रति हस्तान्तरण गर्नुभएको थियो । सभामुख सानुकुमार श्रेष्ठले दोस्रो बैठक २५ मिनेटपश्चात् बस्ने गरी आज स्थगित गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया