रामपुर, जेठ १६ : पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका युवाले ‘मेरो गाउँ स्वस्थ म स्वस्थ’ अभियान सुरु गरेका छन् । गाउँघरलाई स्वच्छ, सफा र सुन्दर बनाउने परिकल्पना गर्दै यहाँका युवा तथा स्थानीयवासी ‘मेरो गाउँ स्वस्थ म स्वस्थ’ अभियानमा सक्रिय भएर लागेका छन् ।
घरबाटै सरसफाइ कार्यक्रम सुरु गरियो भने गाउँको वातावरण स्वच्छ र सफा बन्ने भएकाले यस कार्यमा सक्रिय भएर वडावासी जुटेको स्थानीय ऋषिराम अर्याल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो गाउँठाउँको विकास हामी आफैँले गर्नुपर्छ, घर वरपर, सडक छेउमा बाटो हिँड्ने यात्रुले फालेका फोहरजन्य पदार्थले वातावरण प्रदूषण हुँदै गएको छ, आफ्नो गाउँ आफैँले सुन्दर बनाउने अभियानमा हामी जुटेका छौँ ।”
‘पर्यावरण जोगाऊ स्वस्थ बनौँ, प्लाष्टिक नियन्त्रण गरी उर्वरा बढाऊ’ भन्ने अभियानलाई आत्मसात् गर्दै गाउँ स्वस्थ्य भए प्रत्येक व्यक्ति स्वस्थ रहने भन्दै यस अभियान सुरू गरिएको रम्भा गाउँपालिका–१ का वडाध्यक्ष ईश्वर काफ्लेले बताउनुभयो । हरेक हप्ताको शनिबार गाउँ, टोलमा सरसफाइ कार्यक्रम गर्ने अभियानलाई निरन्तररुपमा अगाडि बढाइने वडाध्यक्ष काफ्ले बताउनुहुन्छ ।
“मानिस आफैँ सचेत प्राणी भए पनि आफूले फालेका फोहरजन्य पदार्थले मानिसमा नराम्रो असर गर्छ भन्ने कुराको ख्याल नगर्दा विभिन्न रोगको सिकार बन्नु परेको छ, वडालाई नमूना वडाका रुपमा विकास गर्न यस अभियानमा वडाले साथ सहयोग गर्दै अगाडि बढ्नेछ”, वडाध्यक्ष काफ्लेले भन्नुभयो । फोहरजन्य पदार्थले मानिसमा पु¥याउने असरबारे नागरिकलाई सचेत गराइएको छ । यस अभियानमा गाउँका ज्येष्ठ सदस्यले पनि साथ दिएका छन् ।