मछिन्द्रनाथको रथ आज जावलाखेलतर्फ लगिने

  जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपरान्ह रथलाई जावलाखेल लगिने भएको छ । गत वैशाख २६ गते लगनखेल पु¥याइएको रथलाई आज जावलाखेलतर्फ लैजान लागिएको हो ।

बिहान साइतको समयमा पानेजुहरुले साङ्केतिक रुपमा हल्लाउने गरेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । अपरान्हमा रथलाई तान्ने गरिएको छ । जावलाखेलमा पुगेपछि हुने जात्रालाई सात गाउँको जात्रा वा सप्तग्राम जात्रा भनिन्छ । जावलाखेल लैजानका लागि रथ तान्न पहिलेपहिले सात गाउँका मानिस आउनुपर्ने भए पनि अहिले कोही आउने र कोही नआउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ वरपरका कीर्तिपुर साँगा, पाँगा, चन्द्रागिरीलगायतका गाउँबाट आउनुपर्ने भए पनि अहिले आउने गरेका छैनन् ।” रथलाई जावलाखेल पुर्‍ययाएको चौथो दिनमा भोटो जात्रा हुने गर्छ । आज राति नै रथ पुगेमा आगामी शनिबार जात्रा हुने ज्योतिष दैवज्ञ जोशीले बताउनुभयो । कुनै कारणले भोलिपल्ट मात्रै पुगेमा भने आइतबार जात्रा हुनेछ । विगतका वर्षमा रथ लगनखेलबाट हिँडाएको दिनमा नै जावलाखेल पुग्ने गरेको उहाँले बताउनुभयो ।

जावलाखेलको जात्रालाई ‘सात गाउँको जात्रा’समेत भन्ने गरिएको छ । जावलाखेलमा जात्रा सकिएसँगै मछिन्द्रनाथको यो वर्षको जात्रा सकिन्छ । त्यसपछि देवतालाई बुङ्मति लैजाने गरिन्छ । देवता वर्षमा झण्डै आधाआधा समय पाटन र बुङमतिमा राख्ने गरिएको छ । गत बिहीबार मङ्गलबजारमा ज्योतिष खलक बसेर साइत हेर्दा जावलाखेलतर्फ लैजानका लागि आजको साइत जुरेको थियो । मङ्गलबजारको सोह्खुट्टे पाटीमा बसेर साइत हेर्ने गरिएको छ ।

उपत्यकाको सबैभन्दा लामो रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारण जात्रा नियमितरुपमा सञ्चालन हुन नसकेकामा यसवर्ष उत्साहकासाथ रथयात्रा भइरहेको गुठीका प्रमुख हरि सुवेदीले बताउनुभयो । उहाँका अनुसार कोभिड सङ्क्रमणको जोखिमका कारण गत दुई वर्ष साङ्केतिक रुपमा मात्रै रथ तानिएकामा यसवर्ष विधिपूर्वक भइरहेको छ । स्थानीय हर्षित र उत्साहित भएको सुवेदीले बताउनुभयो ।

स्थानीय तह निर्वाचन भइरहँदा पनि ललितपुर महानगरपालिकामा भने जात्राको रौनक छाएको थियो । वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण भएपछि जात्राको रौनक अझै बढ्ने गरेको छ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।

तपाईको प्रतिक्रिया