कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार विनोद पहाडीलाई दिइने

  जेठ १६, २०७९

काठमाडौँ, जेठ १६ : मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

विसं २०६४–६९ सम्म संविधानसभा सदस्यसमेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा गर्नुभएको उल्लेखनीय योगदानका लागि शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको सभापति गोविन्द खनालले राससलाई जानकारी दिनुभयो ।

विसं २०७९ मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा रु एक लाख १० हजार नगद पुरस्कार राशि र सम्मानपत्रसहित पहाडीलाई पुरस्कृत गरिने समाजले जनाएको छ ।

तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ पर्नुभएका पहाडी डा भीमराव अम्वेडकर पदकबाट समेत सम्मानित भइसक्नुभएको छ । पिता रामबहादुर नेपाली र आमा शोभी नेपालीका सुपुत्र पहाडीको जन्म २०२८ साल वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवलको रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा आबद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घको संस्थापक अध्यक्ष (२०६१), नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य (२०५६) एवं पत्रकार महासङ्घ रुपन्देही शाखाको दुई कार्यकाल (२०५३–५८) सभापति रहिसक्नुभएको छ ।

दलित समुदायको अधिकार र उत्थानका लागि विभिन्न सङ्घसंस्थामा क्रियाशील पहाडीले सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान÷अध्ययन कार्यमा समेत योगदान गर्नुभएको छ । उहाँ लेखक तथा विश्लेषक हुनुका साथै विभिन्न मानव अधिकारवादी संस्थामा पनि क्रियाशील हुनुहुन्छ ।

अभियानकै क्रममा पहाडीले बेलायत, फ्रान्स, जापान, स्वीजरल्याण्ड, दक्षिण अफ्रिका, मेक्सिको, बेल्जियम, रुवाण्डा, बुरुण्डी, युगाण्डा र केन्यासहित १९ देशको भ्रमण गर्नुभएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया