आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल सम्पन्न

  जेठ १५, २०७९

काठमाडौँ, जेठ १५ : सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको छ । सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडकखण्ड ग्राभेल भएको छ भने ९५ किमी मर्मत भएको छ ।

हालसम्म १६ हजार ९३९ किमी कालोपत्र सडक र आठ हजार हजार ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ । गत असारसम्ममा १६ हजार ६१४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्थित र आठ हजार ९३१ किमी कच्ची सडक थियो ।

गत आवमा नै ४७२ किमी नयाँ माटे सडक निर्माण भएको उल्लेख छ । यो अवधिमा ७३९ किमी सडक ग्राभेल र एक हजार १९० किमी सडक कालोपत्रमा स्तरोन्नति भएको थियो । गत आवमा नै सात हजार १८७ किमी सडक नियमित र पटके मर्मत र ४२४ किमी आवद्यिक मर्मत भएको थियो । गत आवमा १९२ पुल सम्पन्न भएको थियो ।

फागुनसम्ममा नै प्रादेशिक र स्थानीयस्तरका कच्ची, ग्राभेल र कालोपत्र गरी ९२१ किमी सडक निर्माण भएर जम्मा ६४ हजार ६१७ किमी सडक निर्माण भएको छ । गत असारसम्ममा कूल प्रादेशिक र स्थानीय सडकको लम्बाइ ६३ हजार ६९६ किमी रहेको थियो ।

निर्मित सडकमध्ये कालोपत्रको अङ्स सात प्रतिशत, गाभ्रेलको २१ प्रतिशत र कच्ची सडकको ७२ प्रतिशत रहेको छ । निर्माण भएका कच्ची सडकको क्रमिकरुपमा स्तरोन्नति गर्नुपर्ने र विद्यमान सडक चौडा गर्नुपर्ने सर्वेक्षणमा बताइएको छ ।

गत फागुनसम्म कूल सडकमध्ये हिमाली क्षेत्रमा १६ प्रतिशत, पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत रहेको थियो । राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्ग ४४ किमी थपिएर एक हजार १५७ किमी पुगेको छ । यहाँका १२९ पुलमध्ये हालसम्म ९२ पुल निर्माण सम्पन्न भएका छन् ।

हुलाकी राजमार्गमा यो अवधिमा ८१ किमी सडक र पाँच पुल निर्माण भएको थियो । उत्तर–दक्षिण करिडोरमध्ये कालीगण्डकी करिडोरमा यो वर्ष गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ६४ किमी कालोपत्र भएको थियो । मालढुङ्गा–बेनी जोमसोम कोरला १३२ किमी ग्राभेल र २५ किमी कालोपत्र भएको थियो ।

कर्णाली करिडोरमा यो वर्ष सिमकोट–सरीसल्ला तीन किमी ट्र्याक थप भएर २६१ किमी ट्र्याक निर्माण भएको छ । कोसी करिडोरमा यो वर्ष थप चार किमी ग्राभेल थपिएर ग्राभेल सडकको लम्बाइ ७२ किमी पुगेको छ ।

तपाईको प्रतिक्रिया