स्थानीय निर्वाचनमा १३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

  जेठ ०८, २०७९

काठमाडौं, जेठ ८ : देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित हुनुभएको छ ।

यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ । हालसम्म घोषणा भएको आधिकारिक विवरण अनुसार १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी भएका छन् ।

प्रदेश १ मा दुई पालिका अध्यक्षमा स्वतन्त्र विजयी 

प्रदेश १ अन्तर्गत भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दाँथल कुमार कुलुङ राई विजयी हुनुुभयो । उहाँले एक हजार ८१४ मत प्राप्त गर्नुभयो । राईको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको महेश राईले एक हजार ७८६ मत ल्याउनुभयो ।

यसैगरी, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार  ज्ञानेन्द्र रुम्दाली फराकिलो मतान्तरले विजयी हुनुभएको छ । रुम्दालीले पाँच हजार २१ मत ल्याउनुभयो भने उहाँको निकटतम प्रतिद्वन्दी नेकपा ९एमाले० का रुप लाल तामाङले तीन हजार ८१६ मत ल्याउनुभयो ।

यश प्रदेशको दुई जिल्ला अन्तर्गत दुई गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्वार विजयी हुनुभएको छ ।

मधेश प्रदेशमा एक नगरप्रमुख र उपप्रमुख दुवैमा स्वतन्त्र विजयी 

महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार प्रहलाद कुमार क्षेत्री विजयी हुनुभयो । उहाँले १४ हजार २१० मत ल्याउनुभयो । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले आठ हजार ३२३ मत ल्याउनुभयो ।

बर्दिबास नगरउपप्रमुखमा पनि स्वतन्त्र उम्मेद्वार तारा देवी विजयी हुनुभयो । उहाँले नौ हजार ७३६ मत ल्याउनुभयो । देवीले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण माया गौतमले आठ हजार १८५ मत ल्याउनुभयो ।

गण्डकी प्रदेशमा एक गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र विजयी 

मनाङ्गको मनाङ ङिस्याङ गाँउपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित विजयी हुनुभयो । गुरुङको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याउनुभयो ।

कर्णाली प्रदेशमा दुई नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार

जुम्लाको चन्दननाथ नगरपालिका प्रमुुखमा स्वतन्त्र उम्मेद्वार राजु सिंह कठायत दुई हजार ४०३ मतसहित विजयी हुनुभयो ।

यसैगरी, कालिकोटको खाँडचक्र नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार कमल बहादुर शाही दुई हजार ९१९ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्दी कांग्रेसका पदमबहादुर शाहीले  दुई हजार ३४१ मत प्राप्त गर्नुभयो ।

यसैगरी, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा कार्मा छोइवेल गुरुङ, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा माेहनबहादुर केसी र हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा प्यारी लाल शाही विजयी हुनुभयो । उहाँहरु तीनै जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

यसैगरी, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेम्मा वाङछेन गुरुङ विजयी हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा एक गाउँपालिका अध्यक्ष र एक नगरउपप्रमुखमा स्वतन्त्र 

बाजुराको बुढीनन्दा नगरउपप्रमुखमा स्वतन्त्र उम्मेद्वार रामबहादुर बोहरा विजयी हुनुभयो । बोहोराले चार हजार ७७ र उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिता देवी सिंहले तीन हजार ६७७ मत प्राप्त गर्नुभयो ।

यसैगरी, बैतडीको डीलासैनी गाउँपालिका अध्यक्षमा सन्तोष प्रकाश जोशी तीन हजार १८९ मतसहित विजयी हुनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया