धार्मिक र सांस्कृतिक अनुभूति लिन नेपाल आउने गर्छु : मोदी

  जेठ ०२, २०७९

लुम्बिनी, जेठ २ : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको धार्मिक, सांस्कृतिक सम्पदाकै कारण बेग्लै अनुभूति लिन नेपाल आउने गरेको बताउनुभएको छ।

उहाँले आफू नेपालमा राजनीति गर्न नभएर छुट्टै अनुभूति लिन आउने गरेको स्पष्ट पनि पार्नुभएको छ। २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा सोमबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनु भएका मोदी नेपालको एकदिने भ्रमण सकेर सोमबार दिनको ४ बजे स्वदेश फर्कनुभएको छ।

उच्चस्तरीय भ्रमणका क्रममा उहाँ पाँचौँ पटक नेपाल आउनुभएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा मोदी नेपाल आउनु भएको हो। नवनिर्मित अत्याधुनिक अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा मेडिटेसन हलमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले नेपाल बिना भारतको नामसमेत अधूरो हुने बताउनुभयो।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी आएर मायादेवी मन्दिरको दर्शन गर्न पाउनु मेरा लागि गर्वको कुरा भएको मोदीले आफ्नो अनुभव सुनाउनु भयो। मोदीले नेपालका लुम्बिनी मात्र नभएर पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामजस्ता ऐतिहासिक धार्मिक स्थलले नेपाललाई संसारभर चिनाएको छ भन्नुभयो।

त्यसैले नेपालसँग भारतको सम्बन्ध अतुलनीय भएको बताउनुहुँदै उहाँले आध्यत्मिक आर्शीवाद दिनुभयो। नेपाल सांस्कृतिक मात्र नभएर सगरमाथाको देश, दुनियाँको तीर्थ र मन्दिरको देश सँगै यो धार्मिक, सांस्कृतिक र सभ्यताको देश भएकाले लुम्बिनीजस्ता ऐतिहासिक क्षेत्रको विकासमा भारतले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो।

प्रधानमन्त्री देउवाले लुम्बिनी गौतम बुद्धसहितको मायाको चिनो प्रधानमन्त्री मोदीलाई प्रदान गर्नुभयो। छ घण्टा लुम्बिनीमा बिताउनुभएका मोदीले विभिन्न आधा दर्जन कार्यक्रममा सहभागिता जनाउनुभएको छ। सम्बोधन सकिएसँगै प्रधानमन्त्री मोदी सोमबार अपरान्ह ४ बजे भारत फर्कनु एको छ।

 

तपाईको प्रतिक्रिया