सर्लाहीमा झडप भएको मतदान स्थलमा सेना खटाइयो

  बैशाख ३०, २०७९

सर्लाही, वैशाख ३० : केही मतदान केन्द्रमा झडप भएर मतदान प्रभावित भए पनि सर्लाहीका अधिकांश मतदान केन्द्रमा मतदान जारी छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मतदान नै प्रभावित हुने गरी झडप भएका स्थानमा नेपाली सेनालाई अग्रभागमा खटाइ मतदान कार्य जारी राखिएको जानकारी दिनुभयो। गौतमका अनुसार अहिले चक्रघट्टा गाउँपालिकास्थित शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ मतदान रोकिएको छ।

प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ। यस्तै, बरहथवा नगरपालिका-१७, श्रीपुरमा पनि विवादका कारण मतदान रोकिएको छ। ती दुवै ठाउँमा मतदान सूचारु गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो। झडप भएर दुई पटक रोकिएको धनकौल गाउँपालिका-२, पशुसेवा केन्द्र मतदान केन्द्रमा भने अहिले मतदान जारी छ।

त्यहाँ पनि राजनीतिक दलका नेता कार्यकर्ताबीच पटक-पटक झडप हुँदा प्रहरीले एक दर्जन बढी हवाई फायर गरिसकेको छ। झडप नरोकिएपछि नेपाली सेनालाई पहिलो घेरामै राखेर मतदान भइरहेको छ।

नेपाली सेनाले स्थित नियन्त्रणमा लिएपछि कौडेना गाउँपालिका-६, मा रहेको जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको छ। सेना आएपछि त्यहाँको अवस्था सामान्य छ।

यस्तै, रामनगर गाउँपालिकास्थित पुरानो गाविस भवन मतदान केन्द्रमा दिउँसो केहीबेर रोकिएको मतदान अहिले जारी छ। मतदान केन्द्रमा ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो।

त्यसैगरी, मतदान अधिकृतले नै मतदान गर्न सिकाएको भन्दै विरोध भएपछि बलरा नगरपालिका-३, गाविस भवन मतदान केन्द्रमा सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान सूचारु गरिएको छ। यी दुई-चार ठाउँबाहेक सर्लाहीका अन्य मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सर्लाहीका मुख्य निर्वाचन अधिकृत धु्रवकुमार पियाले जानकारी दिनुभयो।

पानी पर्दा धेरैजसो मतदान केन्द्रमा दिउँसो केहीबेर मतदान प्रभावित भएको थियो। पानी रोकिएपछि अहिले सबैतिर मतदान जारी छ। साँझ ५ बजेसम्म लाइनमा आएर बस्नेलाई मतदान गर्न दिइने मुख्य निर्वाचन अधिकृत पियाले बताउनुभयो।

मतदान सम्पन्न भएपछि सबै स्थानका मतपेटिका गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा जम्मा पारिने छ। त्यसपछि सर्वदलीय बैठक राखेर मतगणना सम्बन्धी निर्णय हुने उहाँको भनाइ छ।

तपाईको प्रतिक्रिया