सार्वजनिक बिदामा काम गर्ने कर्मचारीलाई सट्टा बिदा

  बैशाख २७, २०७९

काठमाडौं, वैशाख २७ : गृह मन्त्रालयले सार्वजनिक बिदाका दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा उपलब्ध गराउने निर्णय गरेको छ । हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा यस किसिमबाट कर्मचारीको व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ । सरकारले परीक्षणको रुपमा आउँदो जेठ १ गतेदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गर्दैछ ।

गृह मन्त्रालयले शनिबार र आइतबार सार्वजनिक बिदा दिने, सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ५ः३० बजेसम्म निर्धारण गरेको छ । यसैगरी, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म रहनेछ ।

२०७९ सालका लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने विभिन्न सरकारी संस्था र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहमा यो नियम लागू हुनेछ । नेपाल सरकारका सचिव टेकनारायण पाण्डेको नामबाट सोमबार प्रकाशित राजपत्रमा सो कुरा उल्लेख छ ।

तपाईको प्रतिक्रिया